भारतीय दूतावासको सहयोगमा रुपन्देहीको राममणि क्याम्पस र नाहरपुर माविमा भवन निर्माण

नेपालस्थित भारतीय दूतावासको सहयोगमा निर्मित रुपन्देहीको राममणि बहुमुखी क्याम्पस र नाहरपुर माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र सोही क्षेत्रका सांसद तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललगायत पदाधिकारी उद्घाटन कार्यक्रममा सहभागी थिए ।

नेपाल–भारत विकास सहयोग परियोजनाअन्तर्गत भारतीय सरकारको ५ कडोर ८० लाख रुपैयाँ सहयोगमा भवन निर्माण गरिएको हो । राममणिमा अत्यावश्यक फर्निचरसहित तीनतले भवन निर्माण गरिएको छ भने नाहरपुरमा दुईतले भवन निर्माण गरिएको छ ।

कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सरकारले गरिने सबै प्रकारका सहयोग नेपालका स्थानीय र संघीय सरकारको सिफारिस तथा निर्णयका आधारमा गरिने जनाए । नेपाल–भारतको बलियो पुरानो सम्बन्धलाई प्रगाढ बनाउन शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न खोजिरहेको बताउँदै उनले भारत सरकारले आर्थिक सहयोग मात्रै ती सरकारहरुको सिफारिसमा गर्ने र अनुदान रकम मात्रै दिएर त्यसको निर्माण स्थानीय निर्माण कम्पनीले नै गर्ने विधि पहिलै तय भएको जनाएका छन् ।

राजदूत श्रीवास्तवले समाज विकासका आधारभूत स्रोत शिक्षा र स्वास्थ्य भएकाले त्यो क्षेत्रमा पछाडि परेका क्षेत्रहरु खोजेर सहयोग गरिएको बताए । उनले त्यसरी निर्माण भएका भौतिक संरचनाहरु अधिकतम प्रयोगमा ल्याउन आग्रह गर्दै सहयोग माग गर्दा हरेक योजना संचालन हुनसक्नेगरी योजना बनाएर त्यही अनुसारको बजेट तयार गर्न सुझाए ।

भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत समग्र क्षेत्रका विकासमा सहकार्य गर्दै आएको उनको भनाइ छ । उनले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्धलाई थप मजदुत बनाउन भारत सरकारले समुदाय विकास कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको बताए ।

सन् २००३ देखि भारत सरकारले नेपालका लागि अगाडि सारेको समुदाय विकास कार्यक्रम मार्फत हालसम्म ५५० वटा विद्यालय भवन निर्माण भइसकेको र लुम्बिनी प्रदेशमा मात्र ६१ र रुपन्देहीका १२ वटा विद्यालय भवन निर्माण भएको उनले बताए । नेपाल सरकारका विभिन्न इकाईहरु स्थानीय तह र जिल्ला समन्वय समितिसँगको समन्वयमा ५५० वटा विद्यालय भवन निर्माण भइसकेको र ९५० वटा एम्बुलेन्स र २५० वटा स्कुल बस उपलब्ध गराइसकेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *