सुरक्षाकर्मीको घेरा तोड्दै कसरी संसद् छिरे मिटरब्याजपीडित ?

सुरक्षाका दृष्टिले संवेदनशील मानिने संसद् भवन परिसरमा आज मिटरब्याजपीडितको भीड नै प्रवेश गरेर नाराबाजी गरेका छन् । यसले संसदको सुरक्षा व्यवस्थामाथि प्रश्नचिह्न खडा गरेको छ ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । यस्तै, प्रवेश पास नभई संसद प्रवेशमा पनि निषेध गरिएको छ । हरदम सुरक्षाकर्मीको घेरामा रहने र कडा सुरक्षा व्यवस्थाबीच संसद परिसरमा मिटरब्याजपीडितको भीड नै कसरी प्रवेश गर्न सम्भव भयो भन्ने प्रश्न अहिले उब्जिएको छ ।

कसरी भयो घटना ?

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा मिटरब्याजबाट पीडित ऋणीहरुले परिसरमै पुगेर नाराबाजी गरेका हुन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु संसद् भवनभित्रै प्रवेश गरेका थिए ।

करिब ५० जनाको संख्यामा रहेका पीडितहरु भित्र प्रवेश गरेका थिए । पछि उनीहरुलाई सुरक्षाकर्मीले घेरा हालेर नियन्त्रणमा लिएको थियो । पीडितहरुले राष्ट्र बैंक नजिक प्रदर्शन गर्दै आएका थिए । त्यसपछि उनीहरु अचानक संसद परिसरमा प्रवेश गरेका थिए ।

पीडितहरुले अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग गरेका थिए । लघुवित्त ऋणीहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् । उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संस्द परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।

लघुवित्त पीडितहरुले तत्काल लघुवित्त पीडितहरुको ऋण मिनाहा हुनुपर्ने र धितो लिलाम फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै आएका छन् । सरकारलाई समेत उनीहरुले यस विषयमा पटकपटक ध्यानाकर्षण गराएका थिए ।

यसरी प्रवेश गरे मिटरब्याजपीडित

विशेष कार्यदलले संसद परिसरको सुरक्षा व्यवस्था हेर्दै आएको छ । सोमबार भएको घटनामा भने प्रदर्शनकारीले संसद् भवन प्रवेशका लागि पश्चिम गेट प्रयोग गरेको पाइएको छ । उक्त गेट संसद्सँग सम्बन्धित सांसद, कर्मचारीलगायत आवतजावत गर्न प्रयोग गरिन्छ । उक्त गेटमा चाप भएको समयमा प्रदर्शनकारी एक–एक जना गरी जम्मा भएको र सुरक्षाकर्मीलाई ठेलेर भित्र पुगेर संगठित रुपमा प्रदर्शन गरेको सुरक्षा स्रोतको भनाइ छ ।

प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले घटबारे बुझ्ने काम भइरहेको पर्दाफासलाई जानकारी दिए । ‘घटना कसरी भयो, मिटरब्याज पीडित कसरी भित्र छिरे भन्नेबारे बुझ्ने क्रममा छौं,’ उनले भने ।

एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

संसद भवनमा मिटरब्याज पीडित प्रवेशको घटना अनुसन्धान गर्न प्रहरीले छानबिन समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे रहेको एसएसपी मैनालीले पर्दाफासलाई जानकारी दिए ।

समितिलाई यस्ता घटना रोक्न र संसदको सुरक्षा व्यवस्थालाई बलियो बनाउन सुझाव दिन पनि जिम्मेवारी दिइएको छ । प्रहरी स्रोतका अनुसार एसएसपी मैनाली नेतृत्वको समितिलाई घटना कसरी भयो, सुरक्षा व्यवस्थामा कसको कमजोरी देखियो लगायत अनुसन्धानको जिम्मा पनि दिइएको छ ।

संसद् सुरक्षाको प्रश्न

संसद सुरक्षाको विषय महत्वपूर्ण मानिन्छ । त्यसैले सोमबार राजधानीमा र राज्यको प्रमुख स्थानमा भएको घटनाले सुरक्षाका प्रश्नहरु खडा गरेको हो । घटनबारे सभामुख देवराज घिमिरेले पनि चासो दिएका छन् । उनले प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई फोन गरेर घटनाबारे जानकारी तथा सुरक्षा व्यवस्थाबारे चिन्ता व्यक्त गरेका थिए ।

केही महिनाअघि छिमेकी भारतको संसदमा पनि प्रदर्शनको घटना भएको थियो । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुराएका थिए । सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो । साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो । तीमध्ये एकजना ओभरहेड दर्शक दीर्घाबाट संसदको तल्लो सदनको भुइँमा फाल हानेका थिए ।

यस्तै, २२ वर्षअघि नयाँदिल्लीस्थित संसद् भवनमा भएको आक्रमणमा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीलाई गोली हानी मारेका थिए । उक्त हमला पनि संसदीय अधिवेशनका बेला भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर