रुसी सेनामा नेपाली भर्तीको विषय सरकारको कमाण्डमा आउन थाल्योः प्रधानमन्त्री

प्रधानन्त्री पुष्पकमल दाहालले रुसी सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थालेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली सेनाहरु रुसी सेनामा भर्ती भएको विषयमा सरकारले रुस सरकारसँग कुराकानी गरिरहेको बताएकी छन् ।

उनले पहिले नेपालीहरु रुसी सेनामा भर्ती भएको विषय सरकारलाई थाहा नभएको उल्लेख गर्दै थाहा पाएसँगै रुस सरकारसँग यस बारेमा कुराकानी भइरहेको जानकारी दिए । उनले अहिले रुस सरकारसँग नेपालीहरु भर्ती भएको विषयमा सूचना दिने, राहत तथा क्षतिपूर्ति दिने र तथ्यांक विवरण दिने समझदारी भएको बताए ।
उनले सो समझदारी भएसँगै यो विषय सरकारको कमाण्डमा आएको बताए ।

‘यो हामी सबैको लागि चिन्ता र पीडाको विषय भएको छ । सरकारलाई कहीँ कतै थाहा थिएन कि नेपालीहरु भारत, दुबईको बाटो गरि रसिया पुगेका छन् । र रसियामा गएर रसियन आर्मिमा भर्ती भएका छन् भन्ने कुरा नेपाल सरकारलाई पहिले थाहा भएको कुरा होइन । जब रसिया र युक्रेनको लडाँइ अगाडी बढ्दै गयो । र केही नेपाली मारिएको कुरा आइसकेपछि मात्रै हामीलाई थाहा भयो कि विभिन्न रुपमा कोही स्टुडेण्ट भिसामा गएका छन् । कोही भिजिट भिसामा गएका छन् । कोही नेपालबाट होइन विदेशबाट गएका छन्,’ उनले भने ।

उनले भने, ‘त्यसरी पुगेको देखिएपछि सरकारले यसलाई गम्भीरतापूर्वक लिएर रुस सरकारसँग कुराकानी गरिएको छ । र अहिले रुसले सूचना दिने, राहत क्षतिपूर्तिपनि दिने र त्यसको तथ्यांक विवरण पनि दिने भन्ने पनि समझदारी भएको छ । अब बल्ल सरकारको कमाण्डमा चिज आउन थालेको छ । त्यसअनुसार हामीले समाधान गर्नेतिर जाँदै छौँ । सरकारले सार्वजनिक रुपमा पनि त्यसरी हाम्रो हिजो ऐतिहासिक सन्धि, सम्झौताद्वारा जुन–जुन देशको सेनामा भर्ती हुने भनिएको छ, खासगरी भारत र ब्रिटिश आर्मिमा बाहेक हाम्रो कहीँ पनि सेनामा भर्ती हुन दिने भन्ने नेपालको नीति छैन । त्यो सार्वजनिक पनि गरिएको छ । जनतालाई त्यसमा सजग गराउनु पनि जरुरी छ ।’

उनले सरकारको भारत र ब्रिटिश सेनामा मात्रै नेपाली भर्ती हुन पाउने ऐतिहासिक सन्धि, सम्झौता रहेको भन्दै त्यस विपरित भर्ती गर्ने कुनै नीति नभएको स्पष्ट पारे । उनले सो विषयमा सरकारले जनतालाई पनि सजग गराइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *