कर्मचारीले हिनामिना गरेको रकम फिर्ता नगरेपछि प्रभु बैंक बिरुद्ध प्रशासन र प्रहरीमा निवेदन

प्रभु बैंकका कर्मचारी सर्वसाधारणसहित विभिन्न संघसंस्थाको रकम लिएर वेपत्ता भएपछि अहिले रुकुमपश्चिममा थुप्रै ग्राहककाे बिचल्ली भएको छ । रुकुमपश्चिमको आठविसकोट शाखाका अपरेशन इन्चार्ज निरजबिक्रम शाहले गैरकानुनी तरिकाले ग्राहकको रकम हिनामिना गरेका थिए ।

रुकुमपश्चिमको आठविसकोट नगरपालिकाले बिहीवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई बैंकमा रहेको रकम फिर्ताका लागि निवेदन दिएको छ । नगरपालिकाको बैंक खातामा रहेको करोडौं रकममध्ये केही रकम फिर्ता गरेको छ ।

नगरपालिकाले लाखौं रकम फिर्ता गर्न बाँकी रहेको भन्दै आठविसकोट नगरपालिकाका प्रमुख रबि केसीले जिल्ला प्रशासन र प्रहरीमा छानबिनको मागसहित निवेदन दिएका हुन् ।

नगर प्रमुख केसीका अनुसार हालसम्म नगरपालिकाको एक करोड पाँच लाख रुपैयाँ र १४ जना बचतकर्ताको ६७ लाख ९८ हजार रुपैयाँ बैंकले फिर्ता गरिसकेको छ । अझै पनि आठ जना बचतकर्ताको ५८ लाख आठसय रुपैयाँ फिर्ता गर्न बाँकी देखिएकाले सो रकम तत्काल फिर्ता गर्न बाँकी छ ।

यस्तै बैंकले अन्य १३ जना बचतकर्ताको खाता अनाधिकृत रुपमा रोक्का गरेकाले तत्काल सुचारु गर्न माग गरिएको छ । नगर प्रमुख केसीले बिहीबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त र प्रहरी नायब उपरीक्षक नमराज भट्टराईलाई छुट्टाछुट्टै निवेदन दिएर उक्त घटनाको शीघ्र छानबिनका लागि माग गरेका छन् ।

निवेदनमा बैंकका आधिकारिक प्रतिनिधिलाई बोलाएर आवश्यक अनुसन्धान, छलफल गराई खातावालाको रोक्का खाता फुकुवा गरी बैंक तथा तत्कालीन कर्मचारीबाट हिनामिना भइ खातामा जम्मा नभएको रकम फिर्ता गर्न माग गरिएको छ ।

स्थानीय स्तरमा भएको सहमति बैंकले वेवास्ता गरेपछि प्रशासनसमक्ष छानबिनको माग गरिएको हो । नगर प्रमुख केसीलाई पीडितहरुले दिएको निवेदनमा आठ जनाको ५८ लाख आठ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने छ । पारस सुनारको ३० लाख ८० हजार, बिमला दमाईको एक लाख १५ हजार, सुनिता शाहीको चार लाख ९३ हजार, बिमला नेपालीको दुई लाख २० हजार, मनकला पुनको सात लाख, लक्ष्मणकुमार शाहीको तीन लाख, तिलकबहादुर मल्लको सात लाख र नरबहादुर कामीको दुई लाख रुपैयाँ हिनामिना भएको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर