सांसदका प्रश्नको जवाफ फागुन २१ मा दिन सरकारलाई सभामुखको रुलिङ

सभामुखको देवराज घिमिरेले संसद बैठकमा सांसदहरुले उठाएका विभिन्न समसामयिक विषयहरुको जवाफ आगामी फागुन २१ मा बस्ने बैठकमा दिन सरकारलाई रुलिङ गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रतिपक्ष दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीले बालकुमारी घटनामा दोषी करार मन्त्रीको राजीनामा नआएको र प्रधानमन्त्रीले पनि संसदमा आएर कुनै जवाफ नदिएको भन्दै बैठक अवरोधको प्रयास गरेका थिए ।

त्यस्तै मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा जिम्मेवार नभएको, रुसी सेनामा नेपाली भर्ती भएको विषयलगायत प्रतिपक्ष दलहरुले पटक पटक सरकारलाई प्रश्न सोधे पनि उत्तर नपाएको भन्दै आन्दोलन जारी रहेको बताएका थिए । लगत्तै सभामुख घिमिरेले आफूले यसअघिको बैठकमा पनि सरकारलाई बैठकमा उपस्थित भएर जवाफ दिन निर्देशन दिइसकेको बताए ।

उनले सभाको फागुन २१ मा बस्ने बैठकमा समसामयिक विषयहरुको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गरे ।

‘माननीय सदस्यहरुले उठाउनुभएको विषयका सम्बन्धमा यसअघिका बैठकहरुमा सरकारलाई बैठकमा उपस्थित भइ जवाफ दिन स्पष्ट निर्देशन दिइसकिएको व्यहोरा म जानकारी गराउँदछु । म यसलाई फेरि भन्दछु, माननीय सदस्यहरुले उठाउनुभएको विषयको सम्बन्धमा यस अघिका बैठकहरुमा सरकारलाई बैठकमा उपस्थित भई जवाफ दिन स्पष्ट निर्देशन गरिसकेको व्यहोरा जानकारी गराउँछु । माननीय सदस्यहरुले आजको बैठकमा पनि विभिन्न विषयका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफको माग गर्नुभएको छ, आज र यसअघि उठेका विषयहरुमा सभाको मिति २०८० साल फागुन २१ गते बस्ने बैठकमा उपस्थित भइ जवाफ दिन नेपाल सरकारलाई म निर्देश गर्दछु,’ उनले भने ।

सभामुखको रुलिङ सँगै प्रतिनिधि सभाको बैठक सहज रुपमा सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर