नामिबियामाथि नेपाल ३ रनले विजयी, फाइनलको सम्भावना कायमै

नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङखलाअन्तर्गत आजको खेलमा नामिबियालाई ३ रनले पराजित गरेको छ । यो जितसँगै नेपालको फाइनलको सम्भावना पनि कायमै रहेको छ ।

नेपालले जितका लागि एक सय ८१ रनको चुनौती दिएको थियो । तर, निर्धारित २० ओभरमा नामिबियाले १७७ रन मात्र बनाउन सफल भयो ।

नेपालका लागि करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । नामिबियाका लागि जेजे स्मितले ५०, फ्र्यांकलिनले ३७ रन बनाए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय ८० रनको योगफल बनायो ।

नेपालका लागि कुशल मल्लले ३७ बल खेल्दै एक चौका र चार छक्काको मद्दतमा ५५ रन बनाए । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडे ।

त्यस्तै गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको सहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा तीन छक्काको मद्दतमा २३ रन जोडे । दीपेन्द्रसिंह ऐरी आठ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भए ।

कप्तान रोहितकुमार पौडेल नौ बलमा दुई चौका प्रहार गर्दै १० रनमा आउट भए । त्यस्तै सुरुआती ब्याट्सम्यान आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले सात तथा सोमपाल कामी दुई रनमात्रै बनाए ।

बलिङतर्फ नामिबियाका बेन शिकाङगोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट झारे । त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान एक÷एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *