बुद्धको शिक्षा प्रवाह गर्न देशव्यापी जागरण अभियान चलाउनुु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहालले उक्त विश्वविद्यालयको १५औँ सभालाई आज सम्बोधन गर्दै शान्तिको सन्देश प्रवाहमा विभिन्न समुदाय र विश्वविद्यालयको अहम् भूमिका हुनुपर्ने बताए । ‘देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा परम्पराका बारेमा ज्ञान सम्प्रेषण गर्न विश्वविद्यालयले सबै क्षेत्रका व्यक्तिलाई बुद्धको आधारभूत शिक्षाका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्नुपर्दछ,’ उनले भने ।

इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्येताका लागि अनुपम स्रोतका रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सांस्कृतिक, धार्मिक, पर्यटन विकासका लागि ठूलो अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।

‘नेपाल बुद्ध भूमि, हजारौँ ऋषिमुनिको योगदानले निर्माण गरेको तपोभूमि पनि हो,’ प्रधानमन्त्रीले भने, ‘त्यसैले नेपाल विश्वकै आस्था र श्रद्धाको केन्द्र हो, यसको प्रवद्र्धन गर्ने दायित्व हाम्रो हो ।’

बौद्ध संस्कृति, कला, विहार तथा गुम्बा संसारकै लागि आकर्षणका सम्पदा हुन् भन्दै प्रधानमन्त्रीले यस्ता संरचनालाई आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढेको खण्डमा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर