कांग्रेस छाडेर प्रचण्डले किन रोजे एमालेको साथ ?

गत वर्ष पुस १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको सरकारमा एमालेको साथ थियो । त्यतिबेला सत्ता गठबन्धनमा एमाले र माओवादीसँगै रास्वपा, राप्रपालगायत दल थिए ।

तर, राष्ट्रपति चुनावमा भने प्रचण्डले एमालेको साथ छोडे । फलस्वरुप कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए । तर, त्यतिबेला कांग्रेससँग बनाएको गठबन्धन माओवादीले फेरि एक पटक भत्काएको छ ।

सोमबार बिहान नयाँ सत्ता गठबन्धनको घोषणा भएको छ । गत वर्षको पुस १० कै यो गठबन्धनमा यसपटक भने राप्रपा सहभागी नहुने भएको छ ।

गत माघ २९ मा प्रचण्डले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनबारे पुनर्विचारको अवस्था आउने धारणा राखेका थिए । यसको कारण थियो, कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस महासमितिमा अबका कुनै पनि चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दस्तावेज ल्याएका थिए, जसलाई केन्द्रीय समितिबाट संशोधन गर्नेगरी पारित गरिएको थियो ।

कांग्रेस उपसभापति, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि माओवादी जनयुद्धलाई हिंसात्मक घटना भनेर प्रतिवेदनमा उल्लेख गरे । कांग्रेस महासमितिमा हिन्दूराष्ट्रको विषय पनि अघि आयो ।

यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत, रक्षामन्त्री खड्का र स्वास्थ्यमन्त्री मोहन बस्नेतप्रति पनि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिए । यी तीनै मन्त्री कांग्रेसका हुन् । तर, देउवा भने यी मन्त्रीलाई हटाउन चाहँदैन थिए ।

अर्कोतर्फ राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा आफ्नो उम्मेदवार चम्पादेवी कार्कीको पराजयले पनि माओवादी केही अघिदेखि असन्तुष्ट थियो । कांग्रेसको शेखर कोइराला पक्षले सहयोग नगरेका कारण आफ्नो उम्मेदवार हारेको माओवादीको भनाइ थियो । यही विषयको विवादको बीजारोपणले कांग्रेस–माओवादीको गठबन्धनमा फाटो देखिन थालेको थियो ।

यस्तै, राष्ट्रिय सभा अध्यक्षमा पनि दुई दलबीच फरक दाबी देखियो । कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रिय सभामा ल्याएको र देउवा र प्रचण्डबीच यसबारे अनौपचारिक सहमति भइसकेको पनि कांग्रेस नेताहरुले बताए ।

तर, माओवादी नेताहरुले भने यस विषयमा कुराकानी चले पनि कुनै सम्झौता नभएको दाबी गरे । अहिले राष्ट्रिय सभा अध्यक्ष छोड्दा र पछि सरकारै छोड्दा महत्वपूर्ण पदमा माओवादीको कोही पनि नहुने पीर माओवादीलाई थियो ।

त्यसैले संवैधानिक परिषदको सदस्य हुने राष्ट्रिय सभा अध्यक्ष पदका लागि माओवादीले आफ्नो दाबेदारी पेस गरेको थियो । यसले पनि गठबन्धनमा दरार देखियो ।

नयाँ गठबन्धनको अर्को आधार, वामपन्थी दलबीच सहकार्यको अवधारणमा बाह्य चासो । पछिल्लो समय नेपालका लागि चिनियाँ राजदूत छन सोङको सक्रियता बढेको थियो । उनले हालै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेटघाट गरेका थिए ।

चीनले पछिल्लो समय खुलेरै नेपालमा कम्युनिस्ट पार्टीबीच सकेसम्म एकीकरण र नभए कार्यगत एकताका लागि पहल गर्दै आएको थियो । यसअघि नेपालका लागि चिनियाँ राजदूत रहेकी होउ यान्छीले पनि तत्कालीन नेकपा गठनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

पछि नेकपा विभाजन हुँदा पनि चिनियाँ पक्षले असन्तुष्टि जनाएको थियो । साथै नेपालका कम्युनिस्ट पार्टीहरुबीच सहकार्यका लागि प्रयास पनि गर्दै आएको थियो । पृष्ठभूमिमा यी विषय अघि बढ्दै गर्दा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन लगायतले गठबन्धनको भविष्यमाथि विभिन्न टीकाटिप्पणी गर्दै आएका थिए ।

यस्तै, हालै प्रचण्डकी छोरी रेनु दाहाल मेयर रहेको भरतपुर महानगरमा आयोजित कार्यक्रममा ओली सहभागी हुनु, टीआरसी लगायत विधेयकका बारेमा ओली–प्रचण्डबीच निरन्तर वार्ता हुनुले दुई नेताबीच फेरि सम्बन्धमा सुधार आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *