सत्ता फेरबदलले रुसी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको टेलिफोन वार्ता अन्योलमा

परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासको लामो प्रयासपछि सम्भव भएको नेपाल र रुसका परराष्ट्रमन्त्रीबीचको टेलिफोन वार्ता सत्ता गठबन्धमा भएको फेरबदलसँगै अन्योलमा परेको छ । तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदको प्रयासले जुरेको टेलिफोन संवादका विषयमा के गर्ने मन्त्रालयका अधिकारी नै अन्योलमा परेका छन् ।

रुसी सेनामा रहेका नेपालीहरुलाई सकुशल फिर्ता, ज्यान गुमाएका परिवारका सदस्यलाई क्षतिपूर्ति र भर्ना रोक्ने लगायत विषयमा द्विपक्षीय आधिकारिक टेलिफोन वार्ताका लागि समय केही दिनअघि निर्धारित भएको हो ।

नयाँ सत्ता समीकरणका कारण परराष्ट्रमन्त्री रिक्त हुँदा वार्ता हुने, नहुनेमा अन्योल देखिएको हो ।

यही मार्च ७ (बिहीबार) मा नेपाली परराष्ट्रमन्त्रीले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने तय भएको थियो । तर, त्यसअघि नै सत्ता गठबन्धनमा परिवर्तनका कारण परराष्ट्रमन्त्री रहेका एनपी साउदको पद गुमिसकेको छ । यही कारण अब रुसी विदेशमन्त्रीसँग कसले वार्ता गर्नेभन्नेबारे अन्योल देखिएको हो ।

दुई देशका विदेशमन्त्रीबीच पछिल्लो समय रुसी सेनामा नेपाली भर्तीको विषयमा वार्ता हुने तय भएको थियो । नेपालीहरु अवैध रुपमा रुसी सेनामा भर्ती हुँदा र त्यसलाई रुसले पनि प्रोत्साहन गर्दा रुस–युक्रेन युद्धमा मर्ने र क्षति पुग्ने नेपालीको संख्या बढ्दै गएको छ ।

नेपालले रुसी सेनामा नेपालीलाई भर्ती नलिन, भर्ती भएका, मृत्यु तथा अंगभंग भएकाको विवरण दिन र रुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता गरिदिन पटकपटक रुसलाई आग्रह गर्दै आएको छ । सरकारले नेपालस्थित रुसी राजदूतलाई पनि बोलाएर नेपालीको भर्ती रोक्न र विवरण दिन आग्रह गरेको थियो ।

निवर्तमान परराष्ट्रमन्त्री साउदले युगान्डाको राजधानी कम्पालामा गत माघ भएको ‘नाम’ शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गर्दै नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई फिर्ता गरिदिन आग्रह गरेका थिए । त्यसविपरीत रुसले भने नेपालीलाई आफ्नो सेनामा भर्ती लिन रोकेको छैन । न त नेपालीको विवरण नै दिएको छ ।

मस्कोस्थित नेपाली दूतावासले पनि नेपाली भर्तीलाई रोक्न रुसी सरकारलाई पटक पटक आग्रह गर्दै आए पनि उसले टेरेको छैन । यही कारण बिहीबार दुई देशका विदेशमन्त्रीबीच हुने टेलिफोन वार्तालाई महत्वका साथ हेरिएको थियो ।

परराष्ट्र मन्त्रालयस्थित उच्च स्रोतका अनुसार टेलिफोन वार्ताको विषयमा के गर्ने भन्नेबारे आन्तरिक छलफल चलिरहेको छ । ‘बल्लबल्ल टाइम पाएका छौं, अहिले परराष्ट्रमन्त्री नभएको अवस्था अन्योल छ । यसबीचमा परराष्ट्र मन्त्री तोकियो वा प्रधानमन्त्रीले कसैलाई जिम्मेवारी दिएमा कुरा हुन्छ । यसका लागि आन्तरिक छलफल भइरहेको छ,’ स्रोतले पर्दाफासलाई भन्यो ।

यसबीचमा परराष्ट्र मन्त्री नै नियुक्ति हुने सम्भावना भने न्यून देखिएको छ । हाल सत्ता गठबन्धनबीच सहभागी हुने दलको टुंगो लागेपछि मन्त्रालय र सिटसंख्या बाँडफाँट टुंगो लगाउने गरी छलफल भइरहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव अमृतबहादुर राईले रुसी विदेशमन्त्रीसँग टेलिफोन वार्ताबारे अन्तरिक गृहकार्य भइरहेको पर्दाफासलाई बताए । ‘रुसका विदेशमन्त्रीसँग समय लिइएको छ । अहिलेको अवस्थामा के गर्ने भन्ने विषयमा मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच आन्तरिक गृहकार्य भइरहेको छ,’ उनले भने ।

पारिवारिक जानकारीसहितका आधारमा रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या डेढ दर्जन हाराहारीमा पुगेको छ । नेपाल सरकारले भने हालसम्म १२ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । घाइते र बेपत्ता भएकाको एकीन विवरण सरकारसँग छैन । पीडित परिवार तथा नागरिक जीवन रक्षाका लागि सचेतना अभियानले साढे २ सयभन्दा बढी नेपाली परिवारको सम्पर्कमा नआएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *