रुसी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री श्रेष्ठले टेलिफोन वार्ता गर्ने

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासको लामो प्रयासपछि वार्ता सम्भव भएको हो । रुसी सेनामा रहेका नेपालीहरुलाई सकुशल फिर्ता, ज्यान गुमाएका परिवारका सदस्यलाई क्षतिपूर्ति र भर्ना रोक्ने लगायत विषयमा द्विपक्षीय आधिकारिक टेलिफोन वार्ताका लागि समय केही दिनअघि निर्धारित भएको हो ।

नयाँ सत्ता समीकरणका कारण परराष्ट्रमन्त्री रिक्त हुँदा वार्ता हुने, नहुनेमा अन्योल देखिएको थियो । बुधबार परराष्ट्रमन्त्रीको शपथ लिएसँगै श्रेष्ठले वार्ता गर्न लागेका हुन् ।

नेपालीहरु अवैध रुपमा रुसी सेनामा भर्ती हुँदा र त्यसलाई रुसले पनि प्रोत्साहन गर्दा रुस–युक्रेन युद्धमा मर्ने र क्षति पुग्ने नेपालीको संख्या बढ्दै गएको छ । नेपालले रुसी सेनामा नेपालीलाई भर्ती नलिन, भर्ती भएका, मृत्यु तथा अंगभंग भएकाको विवरण दिन र रुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता गरिदिन पटकपटक रुसलाई आग्रह गर्दै आएको छ । सरकारले नेपालस्थित रुसी राजदूतलाई पनि बोलाएर नेपालीको भर्ती रोक्न र विवरण दिन आग्रह गरेको थियो ।

निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले युगान्डाको राजधानी कम्पालामा गत माघ भएको ‘नाम’ शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गर्दै नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई फिर्ता गरिदिन आग्रह गरेका थिए । त्यसविपरीत रुसले भने नेपालीलाई आफ्नो सेनामा भर्ती लिन रोकेको छैन । न त नेपालीको विवरण नै दिएको छ ।

मस्कोस्थित नेपाली दूतावासले पनि नेपाली भर्तीलाई रोक्न रुसी सरकारलाई पटक पटक आग्रह गर्दै आए पनि उसले टेरेको छैन । यही कारण दुई देशका विदेशमन्त्रीबीच हुने टेलिफोन वार्तालाई महत्वका साथ हेरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर