मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही होइन : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरा सही नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको दाबी गरेका हुन् । मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो ? भनी प्रश्नसमेत गरे ।

उनले ३३ प्रतिशत महिलाहरु संसद र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेस गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गरे । ओलीले जनताको अवस्थालाई पूर्ण रुपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरुको काँधमा रहेको बताए । उनले महिलाहरुलाई सशक्तीकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत उल्लेख गरे ।

यसैबीच नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी गरेका छन् । उनले देशभित्र र बाहिरका केही शक्तिहरुले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको कांग्रेस नेतृत्वको आपराधिक गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरु सफल भएकाले यसलाई सकारात्मक रुपमा लिएको पनि बताए ।

शनिबार पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ५ को १२ औं अधिवेशनमा बोल्दै उनले नयाँ सत्ता समीकरणलाई पनि मिसन–२०८४ पूरा गर्न सहयोगीको रुपमा प्रयोग गर्ने योजनासमेत सार्वजनिक गरे । उनले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पुर्‍याउने लक्ष्यसहित अघि बढाएको मिसन २०८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर