राष्ट्रिय सभाका तीन पूर्वसदस्यले सरकारलाई बुझाए सवारीसहितको सुविधा

राष्ट्रिय सभाका तीन जना निवर्तमान सदस्यहरुले राष्ट्रिय सभामा पदीय हैसियत प्राप्त गरेका सवारीसाधनसहितका सेवासुविधा सरकारलाई फिर्ता गरेका छन् ।

सेवासुविधा फिर्ता गर्ने तीन जना पूर्वसदस्यहरुमा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी पूर्वसदस्य दिलकुमारी थापा रावल (पार्वती) छिन् । उनी राष्ट्रिय सरोकार तथा समन्वय समितिकी पूर्वसभापति समेत हुन् ।

त्यस्तै सेवासुविधा सरकारलाई फिर्ता गर्नेमा कांग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता बनेका रमेशजंग रायमाझी र कांग्रेसबाटै राष्ट्रिय सभा प्रमुख सचेतक बनेकी अनिता देवकोटा छन् । राष्ट्रिय सदस्यको आफ्नो कार्यकाल सकिएसँगै सरकारबाट प्राप्त सवारीसाधनसहितका लिएका सबै सुविधा फिर्ता गरेका हुन् ।

सवारीसाधनसहित सेवा सुविधा संघीय संसद सचिवालय सिंहदरबारमा फिर्ता गरिसकेपछि नेतृ दिलकुमारीले संसदको पदाधिकारीको हैसियतले कानूनसम्मत रुपमा प्राप्त भएको सेवा सुविधाहरु पदावधि सकिएको समयसीमा भित्र राज्यलाई फिर्ता गरेको बताइन् । त्यस्तै नेता रायमाझीले राष्ट्रिय सभामा पदीय हैसियत प्राप्त गर्दैगर्दा पाएका सेवा सुविधाहरु आफ्नो कार्यकाल समाप्त भएसँगै बुझाएको बताए ।

देवकोटाले संवैधानिक र कानूनअनुसार प्राप्त पदाधिकारीहरुको सेवा सुविधाहरु आफ्नो कार्यावधि सकिएपछि राज्यलाई फिर्ता गरेको बताइन् । गत फागुन २० देखि उनीहरुसहित राष्ट्रिय सभाका २० जना सदस्यको कार्यकाल सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *