अमेरिकी लगानीकर्तालाई लगानी सम्मेनलमा सहभागी हुन अर्थमन्त्रीको अपिल

अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज अर्थमन्त्रालयमा भेटवार्ता गर्दै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए ।

‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो,’ पुनले भने, ‘तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।’

पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा सूचना प्रविधि क्षेत्रमा राम्रो सम्भावनाको क्षेत्र भएको बताए । लगानी सम्मेलन पूर्वनिर्धारित समयमै हुने बताउँदै सरकार त्यसले त्यसको तयारीका लागि तीव्रता दिइरहेको पनि उनले उल्लेख गरे ।

राजदूत थम्प्सनले लगानी सम्मेलनमा ठूलो संख्यामा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिए । उनले अमेरिकी लगानीकर्ता नेपालमा आउन आकर्षित रहेको भन्दै त्यसका लागि वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यसअवसरमा राजदूत थम्पसनले सङ्क्रमणलीन न्यायसम्बन्धी विधेयक चाँडै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउनेमा विश्वास व्यक्त गरे ।

भेटवार्ताका क्रममा राजदूत थम्प्सनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अनुदानअन्तर्गत नेपालमा कार्यान्वयन भइरहेको परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्नेमा पनि चासो राखेका थिए । वाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा सहयोग गर्दै आएको उल्लेख गर्दै एमसिसीअन्तर्गतका परियोजनाको काम सुरु भइसकेको र समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *