नेपाल–कतारबीच लगानी विस्तारका लागि संयन्त्र बनाउने समझदारी

नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसमूह’ गठन गर्ने समझदारी भएको छ ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको एक्लाएक्लै र द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा सो समझदारी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा. रुपक सापकोटाले बताए ।

‘लगानी र सहकार्यका क्षेत्रलाई बिस्तार गर्ने विषयमा छलफल गर्नका लागि दुई देशका तर्फबाट बीचमा ‘टिम’ निर्माण गरेर अगाडि बढ्ने समझदारी बनेको छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले अरब राष्ट्रबाट उच्च तहमा पहिलोपटक कतारका अमिरको नेपाल भ्रमण भएको उल्लेख गर्दै यस भ्रमणबाट दुई देशबीचका सम्बन्धमा नयाँ आयाम थपिएको बताए । भेटवार्तामा दुवै नेताले यस भ्रमणबाट दुई देशबीचको मित्रवत् र हार्दिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको उल्लेख गरेको सापकोटाले जानकारी दिए ।

‘लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य’

नेपाल लगानीकर्ताका लागि विश्वकै सर्वाधिक आकर्षक ठाउँमध्येको एक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको जानकारी गराए ।

उनले भने, ‘नेपालमा शुद्ध पिउने पानीको पर्याप्त श्रोत भएकाले विश्व बजारमा बोतलबन्द पिउने पानी वितरण गर्न सकिने प्रचूर सम्भावना छ ।’

नेपालले लगानीमैत्री वातावरण सुनिश्चित गर्दै लगेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले छिट्टै नेपालमा हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताहरूको टोली नेपाल आउने अपेक्षा रहेको बताए ।

भौगोलिक विविधताका कारण नेपाल अर्गानिक कृषि उत्पादनका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई प्रोत्साहित गरिने बताए ।

नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको पर्यटन पूर्वाधारको विकासमा गरेको अन्तर्राष्ट्रिय लगानी खेर जाने छैन ।’ उनले सन् २०१३ को मेमा शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले गर्नुभएको सगरमाथाको सफल आरोहणले विश्वमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले कतार पर्यटन प्राधिकरणको बाह्य पर्यटन गन्तव्यको सूचिमा नेपाललाई समावेश गर्न आग्रह गरे ।

‘लुम्बिनी र पोखराबाट पनि उडान सञ्चालन गरौँ’

प्रधानमन्त्री प्रचण्डले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाई यातायात भएको उल्लेख गर्दै त्यस्तो अनुरोध गरेका थिए ।

‘कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्रहरु (एमओयु) सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समयको मागसँगै दुबै देशहरूबीच भएका सम्झौता तथा समझदारीहरू परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिए ।

‘आप्रवासी श्रमिक द्विपक्षीय सम्बन्धका सूत्र’

प्रधानमन्त्री प्रचण्डले कतारमा कार्यरत करीब ४ लाख नेपालीहरू द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण सूत्र भएको बताए । उनले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिकहरु पठाउनका लागि नेपालमा व्यावसायिक तालीम र सीपविकास केन्द्रहरू स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गरे ।

नेपाली श्रमिकको सुरक्षाबारे चासो राख्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल आफ्ना नागरिकहरूका लागि सुरक्षित तथा सम्मानित वैदेशिक रोजगारी सुनिश्चत गर्नका लागि प्रतिबद्ध छ र यससँग सम्बन्धित समस्याहरूलाई संवाद तथा कूटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छ ।’

‘आर्थिक विकास नेपालको प्राथमिकता’

प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास नेपालको प्राथमिकता भएको उल्लेख गर्दै सन् २०२६ मा अतिकम विकशित मुलुकको स्तरबाट स्तरोन्नतिलगायतका विकासका आकांक्षाहरू पूरा गर्नका लागि मित्रराष्ट्र तथा विकास साझेदारहरूबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले जलविद्युत् उत्पादन, अस्पताल तथा स्वास्थ्य संस्थाहरु वा अन्तराष्ट्रिय स्तरका क्रिकेट तथा फुटबल रङ्गशालाजस्ता ठूला पूर्वाधार परियोजनाहरूको विकासका लागि कतार सरकारबाट अनुदान प्राप्त हुने विश्वास व्यक्त गरे ।

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुसल रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

‘आफ्नो शैक्षिक इन्टर्नशीपको लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन,’ प्रधानमन्त्रीले भने, ‘म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष पुनः अनुरोध गर्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले राखेको आग्रहलाई कतारका अमिर अल थानीले सकारात्मक रुपमा लिएको सापकोटाले जानकारी दिए । कतारका अमिरले ऊर्जा, यातायात (हवाई सम्पर्क बिस्तार), कृषिलगायत क्षेत्रमा सहकार्य गर्न कतार सकारात्मक रहेको बताएका थिए ।

‘नेपालमा सम्भाव्य लगानीका लागि कतार सकारात्मक छ, सहकार्यका क्षेत्रलाई विस्तार गरेर जान सकिन्छ,’ अमिर अल थानीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर