राप्रपा नेता तथा पूर्वएआईजी श्रेष्ठ कुटिएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।

श्रेष्ठले ठाडो उजुरी दिएपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी भएका श्रेष्ठमाथि कुटपिट भएको थियो ।

उनीमाथि राप्रपाका महामन्त्री विक्रम पाण्डे पक्षधरले कुटपिट गरेको आरोप छ । राप्रपा कार्यसम्पादन समितिका सदस्यसमेत रहेका श्रेष्ठले बैठकको क्रममा राप्रपाका महामन्त्री पाण्डेलाई ‘भ्रष्टाचारी’ को आरोप लगाएका थिए । आफूमाथिको आरोपछि पाण्डे उत्तेजित हुँदा बैठकमा तनावको स्थिति बनेको थियो ।

बैठकमा तनावको स्थिति भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले दुवै पक्षलाई सम्झाउनु परेको थियो । लिङ्देनले यो विषयलाई गम्भीर रुपमा लिने भनेपछि पाण्डे शान्त भएका थिए भने अन्य नेताले पनि पाण्डेमाथि आरोप लगाएकोमा दुःख व्यक्त गरेका थिए ।

त्यसपछि बैठकबाट नेताहरु बाहिरिएपछि पाण्डे समर्थक श्रेष्ठमाथि कुटपिटमा नै उत्रिएका हुन् । पछि अन्य नेताहरुले आक्रोशित समूहलाई शान्त पारेको थियो । श्रेष्ठलाई पाण्डेका समर्थकले हातपात गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *