सरकारलाई सांसदहरुको प्रश्न- उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नसक्ने आँट छ?

उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योगलाई व्यवस्थित गरी सरकारले नै सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन्। उनीहरुले सरकारले सञ्चालन गरेको उद्योगहरु निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नसक्ने हुनुपर्ने बताए।

सांसदहरुले वर्तमान सरकारले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नसक्ने आँट र क्षमता छ? भन्दै उद्योग मन्त्रीलाई प्रश्न समेत गरेका छन्। उनीहरुले सरकारले सञ्चालन गरेका उद्योग आर्थिक रुपमा धरासायी हुनु चिन्ताको विषय रहेको भन्दै आगामी दिनमा निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नसक्ने र नाफामा लैजाने गरी सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनीहरुले विगतका राज्यले मुलुकभित्रै कच्चा पदार्थ, जनशक्ति र उपभोग पनि मुलुकभित्रै गर्ने उद्देश्यले सञ्चालनमा ल्याएका उद्योग व्यवस्था परिवर्तनसँगै निजीकरण भएको बताए। उनीहरुले बाँकी रहेका उद्योग पनि आर्थिक रुपमा धरासायी रहेको भन्दै अब राज्यले तदारुकताका साथ उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनीहरुले राज्य एक्लैले सञ्चालन गर्न नसक्ने भए नीतिगत रुपमा निजी साझेदारीमा जाने विकल्पमा जान पनि सुझाव दिए।

उनीहरुले सरकारले उद्योग सञ्चालन गरी बजारको समेत व्यवस्थापन गर्न आवश्यक रहेको बताए। बैंठकमा बोल्दै नेपाली कांग्रेसका सांसद राजु थापाले उद्योगमन्त्री दामोदार भण्डारीलाई उद्योग चलाउन सक्ने आँट छ? भन्द्रै प्रश्न गरे। उनले सरकारको स्वामित्वमा रहेका उद्योगहरु सञ्चालन गर्ने दायित्व सरकारको भएको बताए।

उनले सरकार र मन्त्रीको उद्योग चलाउँछु भन्ने इच्छाशक्ति हुन आवश्यक रहेको बताए। उनले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग चल्न आवश्यक रहेको उल्लेख गरे। उनले पञ्चायत कालमा सुरु भएका उद्योग प्रजातन्त्र आएपछि धरासायी भएको बताए।

सरकारी उद्योगमा मन्त्रीका पार्टीका कार्यकर्ता भर्ती केन्द्रको रुपमा लैजाँदा पनि उद्योग माथि उठ्न नसकेको उनको भनाइ छ। उनले निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योगहरु फस्टाएकाले सिमेन्टमा मुलुक आत्मनिर्भर भएको बताए। उनले अब सरकारले दुई उद्योग सञ्चालन गर्न नसक्ने भए निजी साझेदारीमा भएपनि चलाउन आवश्यक रहेको बताए।

नेकपा एमालेका सांसद हेमराज राईले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्ने वा निजी साझेदारीमा सञ्चालन गर्ने भन्ने विषयमा राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए। उनले पञ्चायत कालमा स्थापना भएका उद्योगहरु मुलुककै कच्चा पदार्थ, रोजगारी र उपभोगसमेत मुलुकभित्रै हुने अवधारणामा सञ्चालनमा आएको बताए।

उनले विगतमा सरकारी उद्योग निजीकरण हुँदा पनि भएको समस्यालाई सिकाईको रुपमा लिएर राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पनि सरकार आफैंले सञ्चालन गर्दा पनि जर्जर अवस्थामा उद्योग पुग्नुको वास्तविकता अध्ययन र समीक्षा गर्न आवश्यक रहेको बताए। उनले यसरी अध्ययन र समीक्षा सरकारले गर्नसके मात्रै आगामी दिनमा व्यवस्थित रुपमा लैजान सकिने बताए।

उनले अगाडि उद्योग सञ्चालनका गलत पक्षको समिक्षा गरिने भने अब सुधार गर्ने भनेर मात्रै नहुने बताए। उनले सरकारले सञ्चालन गर्न नसके अब निजी साझेदारी रुपमा जाने मोडल पनि अपनाउनुपर्ने आवश्यकता औंल्याए। उनले यी उद्योगलाई नाफामुखी बनाएर सञ्चालनमा निरन्तरता दिन सक्नुपर्ने बताए।

नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले निजी क्षेत्रले चलाएका उद्योगहरु नाफामा जाने तर सरकारले चलाएका उद्योगहरु धरासायी हुनु चिन्ताको विषय भएको बताइन्। उनले सरकारले चलाएका उद्योग धरासायी भएको विषयमा चिन्ता लिन आवश्यक रहेको बताइन्।

उनले धरासायी बन्यो भनेर सरकारले चिन्ता गरेर बस्ने भन्दा पनि आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन गर्न आवश्यक रहेको बताइन्। उनले सरकारले यस्ता उद्योगलाई कसरी नाफामा लैजाने भन्ने विषयमा सोच्नुपर्ने बताइन्। सांसद पौड्यालले सरकारी उद्योगहरु बन्द हुँदै जान नहुने भन्दै निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नेगरी सञ्चालन गरिनुपर्ने बताइन्।

नेकपा एमालेका सांसद लालप्रसाद सावाँ लिम्बूले उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तर राम्रो हुँदा पनि बजार व्यवस्थापन गर्न नसक्दा उद्योग धरासायी बनेको बताए। उनले सरकारले उत्पादन गरेको सिमेन्टको बजारको अभाव नभएको बताए।

उनले उद्योगहरुलाई व्यवस्थित बनाउनको लागि सरकारले नयाँ रणनीति बनाउन सुझाव दिए। उनले दुई उद्योगको नयाँ क्षमता, सोच, नयाँ व्यवस्थापनका साथ जानुको विकल्प नभएको बताए। निजी साझेदारीमा जानुपर्ने विषयमा पनि पर्याप्त छलफल गर्न आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *