राजनीतिक स्टन्टले आर्थिक समृद्धिको बाटो तय गर्ला ? : निर्वाण चौधरी

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले राजनीतिक स्टन्टका कारण देशमा अहिलेको परिस्थिति सृजना भएको जनाउँदै यसले आर्थिक समृद्धिको बाटो तय गर्ला भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा राख्दै चौधरीले यसबारे युवाहरुले आत्ममन्थन गर्नुपर्ने बेला आएको बताएका हुन् ।

‘आज यो देश कुन अवस्थामा छ, कसरी यस्तो भयो, यो देशको हित कसले गर्छ भन्नेबारे युवाहरूले एकपटक आफैलाई प्रश्न सोध्नेबेला भएको छ । के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् ? आज राजनीति स्टन्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ? एकपटक आत्ममन्थन गरौं,’ उनले उल्लेख गरेका छन् ।

नेपालमा लामो व्यावसायिक इतिहास बोकेको घराना चौधरी ग्रुप यतिबेला बाँसबारी जग्गा प्रकरणमा मुछिएको छ । यही प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि ग्रुपका प्रमुख तथा सांसद विनोद चौधरीसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बयान पनि लिएको थियो । बयानपछि चौधरीले राजनीतिक स्टन्ट गर्नेहरुलाई आफ्नो चरित्रको सर्टिफिकेट दिन आवश्यक नरहेको बताएका थिए । त्यही पृष्ठभूमिमा उनका छोरा तथा व्यवसायी निर्वाण चौधरीको पनि धारणा सार्वजनिक भएको हो ।

यस्तो छ चौधरी धारणाः

१८० वर्ष पहिले टाटा समूह भारतमा आयो । आज भारतीय अर्थतन्त्रमा ठूलो योगदान दिनुका साथै भारतका लागि गौरव बनेको छ यो व्यापारिक घराना । १५० वर्षअघि नेपाल आएको हाम्रो परिवारको छैठौं पुस्ता पुगेको छ ।

नेपालको कुल राजस्वमा करिब २ प्रतिशत योगदान, देशको सबैभन्दा ठूलो रोजगारदाता, नेपाल बाहिर पनि तीव्र व्यापार विस्तार गरेर नेपाली चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डालाई विश्वमञ्चमा फैलाइरहेका छौं । हाम्रो प्यारो देश नेपालको आर्थिक समृद्धिका लागि सदैव समर्पित र प्रतिबद्ध छौं ।

देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला निस्वार्थ सहायताको कार्यमा हामी सबैभन्दा अगाडि छौं भन्दा बडो आत्मसन्तुष्टि हुन्छ । भूकम्पका बेला होस्, कोरोना वा यस्तै अन्य कुनै आपतकालीन समयमा हामी निसंकोच जनताको सेवामा जोडिदै आएका छौं । हाम्रो विश्वसनीयता र उत्कृष्ट ट्याक रेकर्डकै कारण त हामीसँग हार्वर्ड बिजिनेस स्कूल, बिल र मेलिन्डा गेट्स फाउन्डेशन वा टाटाहरूलगायतले सहकार्य गर्दै आएका छन् ।

आज यो देश कुन अवस्थामा छ, कसरी यस्तो भयो, यो देशको हित कसले गर्छ भन्नेबारे युवाहरूले एकपटक आफैंलाई प्रश्न सोध्नेबेला भएको छ । के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् ? आज राजनीतिक स्टन्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ? एकपटक आत्ममन्थन गरौं ।

यो देशलाई समृद्धि र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्त र अन्योलको वातावरणलाई सहज बनाउन भूमिका खेल्नेछ भन्ने विश्वास मेरो छ ।

केही समयदेखि बाँसबारी जग्गाका विषयमा जुन धारावाहिक प्रहसन चलेको छ, यसमा थप टिप्पणी गर्न चाहन्नँ । न्यायालयले नै यसको छिनोफानो गर्ने नै छ । म यतिमात्रै भन्न चाहन्छु कि तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न जे जस्ता कार्यहरु भइरहेका छन्, यसले यो मुलुकलाई कता लैजान्छ, एकपटक सबैले आत्मसमीक्षा गरौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *