सशस्त्रको डीआईजी र प्रहरीको एसपी बढुवामा देखिनेछ गृहमन्त्रीको नियत

राजनीतिक प्रभाव र दबाबका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही उच्च तहका दरबन्दी लामो समयदेखि खाली छन् । सशस्त्रमा एक डीआईजी र नेपाल प्रहरीमा ८ एसपी पदमा लामो समयदेखि बढुवा हुन नसकेको हो ।

यसअघिको गठबन्धनका नेताहरुको चासो र दबाबका कारण यी पदमा बढुवा प्रक्रिया अघि बढ्न सकस परेको थियो । समयमै बढुवा हुन नसक्दा बढुवाका आकांक्षीहरु भने निराश बनेका छन् ।

केन्द्रमा नयाँ समीकरण आएसँगै बढुवाका लागि प्रक्रिया अघि बढाइरहेको दुवै संगठनको भनाइ छ । तर, विशेषगरी गृहमन्त्रीलगायत उच्च पदस्थ नेताहरुको चासो बढुवा प्रक्रियामा रहने गरेको छ ।

हालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको सरुवा बढुवा प्रक्रियामा अनावश्यक हस्तक्षेप नगर्ने जनाएका छन् । तर, अब कार्यान्वयनमा तहमा देखिने उनको भूमिकाले नियत पनि स्पष्ट पार्नेछ ।

नेपाल प्रहरीमा नायब उपरीक्षक (डीएसपी) बाट उपरीक्षक (एसपी) मा लामो समयदेखि बढुवा रोकिएको छ । प्रहरीमा गत साउनयताका विभिन्न मितिमा गरी ८ एसपी पद रिक्त छ । जब कि प्रहरी नियमावली २०७१ को दफा २६ अनुसार पद रिक्त रहेको मितिले तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने हुन्छ ।

गत साउनमा एसपीद्वय दानबहादुर मल्ल र वामदेव गौतमले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए । यस्तै, कात्तिक २४ मा एसपीहरु बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरबहादुर ओली र चन्द्रदेव राईले अवकाश पाएका थिए ।

एसपी रमेशकुमार बस्नेतलाई गत माघ ७ मा एसएसपी पदमा बढुवा गरिएपछि प्रहरीमा ८ एसपी पद रिक्त भएको हो । रिक्त पदका लागि एक दर्जन डीएसपीहरु प्रतिस्पर्धामा छन् ।

बढुवाको दाबेदारमा डीएसपीहरु प्रदीपकुमार क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरन्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे छन् ।

डीएसपीबाट एसपी बढुवाका लागि बढुवा समितिको अध्यक्षमा प्रहरी महानिरीक्षक (आईजीपी) रहने व्यवस्था छ । आईजीपी अध्यक्ष भएसँगै गृह मन्त्रालयका सहसचिव सदस्य र आईजीपीले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वा नायव प्रहरी महानिरीक्षक (डीआईजी) सदस्य सचिव रहने व्यवस्था छ ।

यस्तै, सशस्त्र प्रहरीमा पनि एक नायब महानिरीक्षक (डीआईजी) को पद ६ महिनायता रिक्त छ । गत भदौ ३० मा डीआईजी विदुर खड्काले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए । त्यसयता उक्त पदमा बढुवा हुन नसकेको हो ।

बढुवाको दाबेदारमा एसएसपीहरु कृष्णराज पाठक, दीपक अधिकारी, कृष्ण ढकाल र मनिष थापा छन् ।

बढुवाको प्रक्रियाका लागि गत फागुन ३ मा सशस्त्र प्रहरी बलको मानव स्रोत तथा प्रशासन विभागले सूचना निकालेको थियो । सूचनामा सम्भाव्य उम्मेदवारले ७ दिनभित्र आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवाका लागि आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपीहरु सहित फारम भरेर पेश गर्न भनिएको थियो । दाबेदारले फारम भरे पनि प्रक्रिया भने अघि बढेन ।

सशस्त्रमा बढुवा सिफारिसका लागि गृहमन्त्रालयका सचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक सदस्य र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य सचिव रहने बढुवा समितिको व्यवस्था छ । तर, समितिले हालसम्म डीआईजीमा कसैलाई सिफारिस गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *