उपचुनावमा एमाले उम्मेदवारलाई सघाउन माओवादी लचक

आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई सघाउन माओवादीले लचकता देखाउने संकेत गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार भएको शीर्ष छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो सत्तागठबन्धनलाई बलियो बनाएर अघि बढाउन उपचुनावमा एमाले उम्मेदवारलाई सघाउने गरी छलफल गर्न सकिने बताएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच उपचुनाव, मन्त्रिपरिषद्लाई पूर्णता र प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा केन्द्रित रहेर कुराकानी भएको थियो । एमालेले आइतबार इलाम– २ मा सुहाङ नेम्बाङ र बझाङ प्रदेश सभा (ख)मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट उनीहरूबीच चुनावसहितका विषयमा केन्द्रित रहेर छलफल भएको हो ।

माओवादी महासचिव देव गुरुङले सत्ता घटकमा रहेका दलहरू उपनिर्वाचनमा मिलेर जाने विषय छलफलकै क्रममा रहेको बताए । ‘मिलेर जाने विषय अहिले छलफलकै क्रममा छ । उहाँहरू (एमाले)ले आफ्नोतर्फबाट उम्मेदवार तय गर्नुभएको छ,’ उनले भने, ‘चुनावमा भाग लिने कुरा मुख्य कुरा हो, उम्मेदवार तय भइसके पनि २४ चैतमा मात्र उम्मेदवार मनोनयन दर्ता हुने भएकाले त्यसअघि र त्यसपछि पनि कुराकानी हुन सक्छ । तालमेल के–कति, कसरी मिलाउन सकिन्छ भन्ने कुरा सत्तापक्षका घटक बसेर छलफल गर्दै जाने कुरा हो ।’

एमालेले उम्मेदवार तय गरिसके पनि माओवादीले उम्मेदवार सिफारिस मागका साथै कुनै आन्तरिक छलफल गरिसकेको छैन । प्रधानमन्त्री प्रचण्ड एमालेलाई विश्वासमा लिन उसका उम्मेदवारलाई सघाएर जाने ‘मुड’मा देखिएको र ओलीसँग त्यसअनुसार नै कुराकानी चलिरहेका कारण अहिले माओवादी तत्काल उम्मेदवार टुंग्याइहाल्ने पक्षमा छैन । तर, एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने एमालेलाई इलाममा सघाउन सकिने, तर बझाङमा संघीय निर्वाचन क्षेत्र जितेका कारण राम्रो प्रभाव रहेकाले आफ्नो उम्मेदवारलाई सघाउनुपर्ने सर्त अगाडि सारेका छन् । स्रोतका अनुसार बालुवाटार छलफलमा नेपालले अन्यथा दुवैतिर अलग्गै उम्मेदवार उठाउने ओली र प्रचण्डलाई जानकारी गराएका छन् ।

आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *