नेपाल लगानीको उच्च प्राथमिकतामा छ : एसियाली पूर्वाधार बैंक

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआइआइबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेटका क्रममा नेपाललाई लगानीको प्राथमिकतामा राखिएको जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा अर्थमन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । जवाफमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका एआइआइबी निर्देशक आरएमपी रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा स्रोतको उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइने बताए ।

५० प्रतिशत पूँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआईआईबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न अर्थमन्त्री पुनले आग्रह गरेका थिए । जवाफमा रथनायेकेले बहुवर्षीय आयोजनाको छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्न सकिने औँल्याए ।

अर्थमन्त्री पुनले आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि एआइआइबीलाई निम्ता गरे । निर्देशक रथनायेकेले लगानी सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने प्रतिबद्धता जनाए ।

एआईआईबीको दक्षिण कोरियाली कम्पनी प्रमुख लगानीकर्ता रहेको दुई सय १६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ४० मिलियन अमेरिकी डलर बराबरको लगानी छ । यस्तै, लुम्बिनी र कर्णाली प्रदेशमा निर्माणाधीन केही विद्युत् प्रसारण लाइनमा पनि एआईआईबीले लगानी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर