देशको अर्थतन्त्र गत वर्षजस्तो संकटमा छैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो संकटमा नभएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकांकमा सुधार देखिएको उल्लेख गर्दै देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त नभएकाले यसका लागि घनीभूत छलफल आवश्यक रहेको बताए ।

प्रधानमन्त्री दाहालले आगामी नीति कार्यक्रम र बजेटमा सबै क्षेत्रलाई समेट्ने गरी बजेट तयारीसमेत भइरहेको बताए । उनले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको उल्लेख गर्दै निर्माण व्यवसायीको बक्यौता रकम तत्काल निकास गर्न सरकार लागिपरेको बताए ।

प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीले सम्झौताबमोजिमको काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको भन्दै राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर रहेको बताए ।

निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरको काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिनेजस्ता समस्या गम्भीररुपमा देखापरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक तथा औद्योगिक अवस्था नाजुक भएका कारण विकास निर्माणमा असर परेको उल्लेख गरे । निर्माण व्यवसायीलाई मर्कामा पार्न नहुने र देखिएका चुनौती छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरे ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सात प्रदेशसहित ७७ जिल्लाका एक हजार आठ सय निर्माण व्यवसायीको सहभागिता छ भने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर