शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाऔंः सांसद पौडेल

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाउन आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई बार्गेनिङको विषय नबनाउन दलहरुलाई आग्रह गरेका हुन् । उनले संसद भित्रका दलहरु सत्तापक्ष र प्रतिपक्षमा पालोफेरो हुने गरेका भन्दै संविधानले निर्दिष्ट गरेका कानूनहरु बनाउने कुरामा सबै एकै ठाउँमा हुनुपर्ने बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगसँग सम्बन्धित विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताए । त्यस्तै शिक्षा ऐन, निजामती कर्मचारी ऐन, वन, प्रहरी र भूमिसँग सम्बन्धित ऐनलाई पनि छिटोभन्दा छिटो ल्याउनुपर्ने उनको भनाइ छ ।

‘कानून मन्त्रालयले ११७ वटा विधेयकको तयारी गरेको सुन्नमा आएको छ । यो भन्दा पहिलाको सदनको कुरा हेर्दा निकै दुःख लाग्दोगरी एकाध बाहेक हामीले आपसमा कटाक्ष गर्ने बाहेक हामीले महत्वपूर्ण काम गर्न सकेनौँ । यो सदन र यसपछि हुने सदनहरुले कानून मन्त्रालयले तयार पारेका यसप्रकारका ऐनहरुलाई टुंगो लगाएर देशलाई एउटा निश्चित प्रणालीमा लिएर जानुपर्ने इतिहासको आवश्यकता बनिसकेको छ । टिआरसीसँग सम्बन्धित कानुन बनिसकेको छैन । हामी दलका प्रतिनिधिहरु यही सदनभित्र बस्दा कहिले कुन त कहिले कुन खण्डमा गएर बस्छौँ । तर संविधानले निर्दिष्ट गरेका कतिपय कानुनहरु बनाउने प्रशंगमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *