निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा सुधार भएको सन्देश दिनुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा सुधार भएको सन्देश दिन जरुरी रहेको बताएका छन् ।

सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले जिम्मेवार उद्योगी व्यवसायीहरुले अर्थतन्त्रमा सहज अवस्था नभए पनि अर्थतन्त्र सुधारको सन्देश दिन आवश्यक भएको बताए ।

उनले जिम्मेवार व्यवसायी र व्यक्तिहरुले सबैतिर नकारात्मक अवस्थाको सन्देश दिँदा वातावरण थप बिग्रने अवस्था भएको दाबी गरे । उनले पछिल्लो एक वर्षका अर्थतन्त्रका धेरै सूचकहरुमा सुधार भएको भन्दै अब थप सुधार हुँदै जाने आशा रहेको जिकिर गरे ।

उनले पछिल्लो एक वर्ष अघिसम्म बैंकहरुमा रहेको तरलता अभाव अहिले सहज भएको, बैंकको ब्याजदर एकल अंकमा आउन लागेको, रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति बढेको भन्दै अर्थतन्त्रमा सुधारको संकेत आएको बताए ।

उनले व्यवसायीहरुले मुलुकभरका व्यवसायीहरु सामु सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए । उनले बैंकमा करिव ७ खर्ब लगानीयोग्य पुँजी रहेको बताए ।

अध्यक्ष ढकालले पछिल्लो समय महासंघका वस्तुगत संघहरु महासंघ भएसँगै उद्योग वाणिज्य महासंघको सदस्यता नलिने भन्ने हल्ला सुनिएको भन्दै त्यसले निजी क्षेत्रलाई बलियो बनाउन नसक्ने धारणा राखे । उनले नेपाल उद्योग वाणिज्य महासंघ सरकार पछिको दोस्रो ठूलो संयन्त्र भएको दाबी गर्दै राज्यले लिने नीति समेत महासंघको आधारणपछि मात्रै लिने गरको स्मरण गराए ।

उनले व्यवसायीहरुको माग र मुद्दालाई राज्यसँग सहकार्य र समन्वयमार्फत समाधान गर्ने माध्यम नै महासंघ भएको दाबी गरे ।

ढकालको भनाइः

मुलुकको अर्थतन्त्र विगतको जस्तो सहज अवस्थामा छैन । तर पछिल्लो एक वर्ष अघिसम्म बैंकहरुमा तरलता अभाव थियो । बैंकको ब्याजदर उच्च थियो । रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति कम थियो । आयातमा के गर्ने भन्ने थियो । पर्यटन आगमन कम थियो । यी सबै सूचकहरु पर्यटन आगमन, रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति बढेको छ । बैंकमा तरलता उच्च छ ।

करिब ७ खर्ब लगानी योग्य पूँजी छ भनिरहेका छन् । बैंकको ब्याजदर सिङ्गल डिजिटमा आइसकेको छ । निर्णय गर्न मात्रै बाँकी छ । माग र सप्लाई विगतको तुलनामा धेरै कम छ । तर अब यो भन्दा नराम्रो अव हुन्छ जस्तो लाग्दैन । अब बिस्तारै सुधार हुँदै जान्छ । व्यवसायीहरुले अर्थतन्त्र र व्यवसाय सम्बन्धि नकारात्मक सन्देश दियौं भने नकारात्मक सन्देश मुलुकभर जान्छ ।

त्यसैले सहज अवस्था छैन तर सुधार हुँदै जान्छ भन्ने आशाले सबै व्यवसायी वा जिम्मेवार व्यक्तिहरुले सकारात्मक हिसावले सन्देश प्रवाह ग¥यो भने व्यवसायिक वातावरण बन्छ । महासंघका वस्तुगत संघहरु महासंघको रुपमा आएका पनि छन् । तर कतिपय साथीहरुले महासंघको सदस्यता नलिए पनि हुने भनेको सुनिएको छ ।

तर मलाई के लाग्छ भने उद्योग वाणिज्य महासंघ नेपाल सरकारपछि दोस्रो ठूलो संयन्त्र हो । सरकार र नियमनकारी निकायले उद्योग वाणिज्य महासंघले के भन्छ । त्यो अनुसार गरौंला भन्ने गरेका छन् । आफैँ महासंघ भयौं किन महासंघको सदस्यता लिने भन्ने कुराले निजी क्षेत्रलाई बलियो बनाउँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर