देशलाई सही बाटोमा लैजान अझै २० वर्ष सक्रिय राजनीति गर्छुः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् ।

शुक्रबार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै उनले अहिले नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको भन्दै पार्टीका आफ्ना उद्देश्य र नीति नछोडीकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको बताए ।

उनले देशलाई राम्रो बाटोमा लैजाने अभिभारामा आफूहरु सफलतापूर्वक अघि बढेको जिकिर गरे । केही समयअघि एमाले बिनाको नेपाल र ओली बिनाको एमालेको कल्पना गरेको भन्दै उनीहरुप्रति दया लागेर आउने टिप्पणी गरे ।

एमाले र देशलाई ठीक बाटोमा अघि बढाउन अझै २० वर्ष आफूले सक्रिय भएर काम गर्ने उनले बताए । उनले देशबाट गरिबी, भोकमरी हटाएपछि मात्रै नेकपा एमालेले सुस्केरा हाल्न सक्ने बताए ।

‘मैले भने नि २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ । नेकपा एमाले र यस देशलाई ठीक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनिमात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ । अहिले हामीलाई समय छैन, हामी व्यस्त छौँ । झिँगाहरु सरापी रहेकाछन्, नेकपा एमाले झन बलियो भएर अघि बढेको छ,’ ओलीले भने ।

अध्यक्ष ओलीले आगामी चुनावमा एमाले एक्लैको बहुमत आउने गरी लाग्न पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर