गुजरातलाई पराजित गर्दै नेपाल एसएमएस फ्रेन्डसिप कपको विजेता

भारतमा आयोजित त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपाल र गुजरात क्लबबीच गुजरातको साई मेघपन क्रिकेट मैदानमा आज दिउँसो भएको प्रतिस्पर्धामा नेपालले १४ रनले खेल जितेको हो ।

जारी प्रतियोगितामा नेपाल र गुजरातबीचको यो खेल तेस्रो हो । नेपालले यसअघिका दुवै खेलमा गुजरातलाई पराजित गरेको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रोमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो । तर, शुक्रबार भएको खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भयो । नेपाल ४ खेलबाट ६ अंकका साथ फाइनल गर्दै गुजरातसँग भेट पक्का गरेको थियो ।

नेपालले पहिले ब्याटिङ गर्दै १७७ रनको लक्ष्य दिएको थियो । तर, गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो ।गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले ४०, आर्य देसाईले ३६ र रुद्र मयूर पटेलले १७ रन बनाए ।

नेपालका लागि अविनाश बोहोराले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै करन किसी र कुशल मल्लले समान १–१ विकेट लिए ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ७४, कुशल भुर्तेल १९, आशिफ शेखले ३४ रन बनाए । कुशल मल्ल ३१ रन हाने । गुजरातका लागि शेन पटेल, तेजश पटेल, जाला युवराज सिंह र जयमित पटेलले समान १–१ विकेट लिए ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो । त्यतैबाट नेपाली टोली ओमान जानेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *