अदालतबाटै अन्यायमा परेको भन्दै जनकपुरधाममा प्रदर्शन

न्याय प्रदान गर्ने अदालतबाटै अन्यायमा परेको भन्दै जनकपुरधाममा पीडितले प्रदर्शन गरेका छन्। उच्च अदालत जनकपुरका न्यायाधीशले आफूमाथि अन्याय गरेको भन्दै पीडितले आईतवार प्रदर्शन गरेका हुन्।

धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीलाई सफाई दिएपछि पीडित पक्षले असन्तुष्टि जनाउँदै आईतवार अदालत परिसरमा प्रदर्शन गरेका हुन्।

धनुषा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका ३ जना र १ सालको कैद सजाय पाएका र बाँकी प्रतिवादीलाई उच्च अदालत जनकपुरले सफाइ पाएपछि पीडित पक्षले फैसलाप्रति असन्तुष्टी जनाउँदै फैसला गरेका न्यायाधीशद्वय बिरुद्ध नाराबाजी समेत गरेका हुन्।

उच्च अदालत जनकपुरका न्यायाधीशहरु किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालको संयुक्त इजलासले फैसला सुनाएको थियो। फैसला गर्ने न्यायाधीशद्वयलाई काराबाही र न्याय दिनुपर्ने मागसहित जनकपुरधाम नगरको परिक्रमा गर्दै प्रदर्शन गरिएको पीडित सञ्जीव राउत गडेरीले बताउनु भयो।

यसअघि घटनामा मारिएका रामसेवक राउतका छोरा सञ्जीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहले अदालत परिसरमै अदालतको फैसलाबिरुद्ध नाराबाजी समेत गरेका थिए। नाराबाजी गरेको आरोपमा संजीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहलाई तत्कालै पक्राउ गरी अदालतले अवहेलना मुद्दामा तीन÷तीन हजार रुपैयाँ धरौटीमा छोडिएको थियो।

सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन विवादमा २०७१ साल चैत ८ गते राति भएको दुईतर्फी भिडन्तको क्रममा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर