आरती साह मृत्यु प्रकरण : छानबिन गर्न डीआईजी जोशीको टिम परिचालन

नेपाल प्रहरीले जनकपुरकी आरती साहको मृत्यु प्रकरणमा छानबिन गर्न प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश जोशी नेतृत्वको टोली जनकपुर पठाएको छ । टोलीमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्वर भण्डारी, इन्सपेक्टर शान्ता लामा छन् ।

जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी साह गत जेठ ७ मा आफ्नै घरमा मृत भेटिएकी थिइन् । आरतीको माइती पक्षले भने दाइजोको निहुँमा छोरीको हत्या भएको दाबी गर्दै आरतीको श्रीमान् लगायतलाई कारबाही माग गरेका छन् । उनीहरुले लामो समय काठमाडौंमा धर्ना पनि गरेका थिए ।

गत फागुन ३० मा आरती साहको परिवारसँग गृह मन्त्रालयले पाँचबुँदे सहमति गरेको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको सहमतिपत्रमा सरकारको तर्फबाट गृह मन्त्रालयका अधिकारी र साहका तर्फबाट ३–३ जनाले हस्ताक्षर गरेका थिए ।

सहमतिपछि साहको परिवारले लामो समयदेखि जारी आन्दोलन फिर्ता लिएको थियो । सहमतिअनुसार यस प्रकरणमा थप अनुसन्धान गर्न सीआईबीको टोली खटाइने बताइएको थियो भने प्राप्त प्रमाण अदालतमा पेस गर्ने सहमति भएको थियो ।

अनुसन्धान टोलीले मृतक आरतीको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र अनुसन्धान थालिएको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने सहमतिपत्रमा उल्लेख थियो ।

अनुसन्धान टोलीले आरतीको मुद्दाको अनुसन्धानमा भएका कमी कमजोरीहरूका सम्बन्धमा अनुसन्धान गर्नेछ । आरतीको परिवारमाथि प्रहरीबाट भएको भनिएको कुटपिट एवं दुर्व्यवहारका सम्बन्धमा पनि अनुसन्धान हुनेछ ।

घटनाबारे नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएका प्रतिवेदनमा उल्लिखित विषय समेतलाई अध्ययन गर्ने सहमति भएको थियो । घटनाका सम्बन्धमा तयार भएका चिकित्सकीय प्रतिवेदनहरू पनि अध्ययन गरिने भएको छ ।

अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनबमोजिम पुनः अभियोजन गरिनेछ । यसैगरी आरतीको परिवारलाई राहतस्वरूप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने पनि सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर