भारतीय दूतावासको सहयोगमा संखुवासभामा विद्यालय भवन बन्ने

संखुवासभाको चिचिला गाउँपालिका–३ मा भारतीय दूतावासको सहयोगमा दिदिङ आधारभूत विद्यालयको विद्यालय भवन बन्ने भएको छ । काठमाडौंस्थित दूतावासका प्रथम सचिव अविनाश कुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले विद्यालय भवनको शिलान्यास गरे । भवन निर्माणमा ४.०२९ करोड रुपैयाँ सहयोग भारतले गर्ने छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिनेछ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने दूतावासले जनाएको छ ।

कार्यक्रममा चिचिला गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

दूतावासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना संखुवासभामा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ, जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस संखुवासभा जिल्लालाई उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर