निजी क्षेत्रलाई उत्साहित बनाउने काम गर्छु : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो पहिलो प्राथमिकता निजी क्षेत्रलाई उत्साहित बनाउनु रहेको बताएका छन् ।

चेम्बरको अध्यक्षमा निर्वाचित भएपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष अग्रवालले आफ्नो पहिलो प्राथमिकता निजी क्षेत्रको खस्केको मनोबल उच्च बनाएर अर्थतन्त्रलाई लयमा फर्काउनेमा रहेको उल्लेख गरे ।

मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने, निजी क्षेत्रलाई उत्साहित बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता उनले जनाए । अध्यक्ष अग्रवालले अर्थतन्त्रमा शिथिलता हुँदा निजी क्षेत्र समस्यामा रहेको भन्दै निजी क्षेत्रका समस्या समाधानको लागि सरकारसँग सहकार्य गर्ने बताए ।

सरकारले दुई वर्षअघि लिएका सहज नीतिलाई परिमार्जन गरी संकुचन नीति लिँदा निजी क्षेत्र धरासयी अवस्थामा पुगेको उनको भनाइ छ । अर्थतन्त्रमा शिथिलता आउनुको प्रमुख कारण पनि निजी क्षेत्र समस्यामा पर्नु भएको उनले दाबी गरे ।

अध्यक्ष अग्रवालले मुलुकमा उत्पादनमुलक क्षेत्र ४० प्रतिशत मात्रै सञ्चालनमा रहेको बताए । देशभरका सटरहरु खाली गरेर धेरै व्यवसायीहरु विदेश पलायन भएको दाबी उनको थियो । अध्यक्ष अग्रवालले रोजगारी कटौती हुँदा विदेश जानेहरुको संख्या बढेको बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारी र रुस–युक्रेन युद्वको कारण अर्थतन्त्रमा आएको प्रभावलाई कुशल व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको दाबी गरे । भारतमा कोभिड लगायतका समस्यालाई कुशल व्यवस्थापनमार्फत नियन्त्रण गर्दा जिडिपी ग्रोथ ७ प्रतिशत बढी भएको बताए ।

राज्यले लिने नीगिगत व्यवस्थाहरु लगानीमैत्री हुन नसके लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन नसक्ने बताए । राजस्वको लक्ष्य पूरा गर्न पनि निजी क्षेत्रले दबाब खेप्नुपरेको उनको भनाइ छ ।

‘अर्थतन्त्र शिथिल अवस्थामा छ । निजी क्षेत्र धेरै समस्यामा परेको अवस्था हो । कोभिड–१९ को प्रभाव,रुस–युक्रेन युद्वले विश्वमा परेको प्रभावले निजी क्षेत्रको २० प्रतिशत गिरावट भएको अवस्था थियो । केही समयको लागि सरकारका सहज नीतिहरु आए । तर पछि सबै नीतिहरु फिर्ता लिएर संकुचनकारी नीतिहरु आए । त्यसले गर्दा निजी क्षेत्र धरासयी अवस्थामा पुग्यो । अहिलेको शिथिलता आउनुको कारण त्यही हो । अहिले पनि १५० भन्दा बढी व्यवसायीहरु कालोसूचिमा परेका छन् । यस्तो भनेको अर्थतन्त्रको लागि राम्रो पक्ष होइन । उत्पादनमुलक क्षेत्र अहिले पनि ४० प्रतिशतको हाराहारीमा मात्रै चलिरहेको छ । देशका मुख्य शहरहरुमा सटरहरु खाली नै देखिन्छ । धेरै व्यवसायीहरुले व्यापार व्यवसाय बन्द गरेका छन् । रोजगारी कटौती भइरहेको छ । विदेश जानेहरुको संख्या बढेको छ । मेरो पहिलो प्राथमिकता भनेको पछिल्लो समय निजी क्षेत्रको खच्केको मनोबल, लगानीमैत्री वातावरण नभएको लागि कसरी राज्यसँग सहकार्य गरेर यसलाई उकास्ने हो,’ अग्रवालले भने ।

बजेटमार्फत सरकारले अनावश्यक करका दरहरु बढाउन नहुने भन्दै करका दरहरु बढाउँदा व्यवसायीहरु निरुत्साहित हुने उनले । करका दर वृद्धि गर्दा चोरीपैठारी बढ्ने र निजी क्षेत्रको व्यापार घट्न थालेको उनको भनाइ थियो । सरकारले निजी क्षेत्रको संरक्षणको लागि करका दरहरु घटाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर