रोड टेष्टबिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्छ : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘रोड टेष्ट’ बिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्ने खाँचो औंल्याएका छन्।

ट्राफिक सचेतना विशेष अभियानको आइतबार सुरूआत गर्दै गृहमन्त्री लामिछानेले यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल उपलब्ध गराउन आग्रह गरेका हुन्।

‘रोड टेष्टबिना लाइसेन्स दिने विद्यमान व्यवस्थामा सुधार गर्नुपर्छ। यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्ने देखिन्छ,’ उनले भने, ‘अब ट्राफिक प्रहरीको बोली नरम, कारबाही कडा हुनुपर्छ।’

उनले ट्राफिक नियम उल्लंघन गर्दा लिइने जरिबाना बढाउनुपर्ने बताए।

‘ट्राफिकलाई दिने गरिएको इन्सेन्टिभलाई पुनः निरन्तरता दिइनेछ। चालकसँग १/२ सय लिएर संगठनकै बेइजत नगर्न आग्रह गर्छु,’ गृहमन्त्री लामिछानेले भने, ‘सरकारले समयानुकूल वृत्ति–विकासमा ध्यान दिनेछ।’

दुर्घटना संख्यालाई पनि कार्य सम्पादन मूल्यांकनको विषय बनाउने गृहमन्त्री लामिछानेले बताए।

नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजाने उनको कथन थियो।

सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरण तथा सडक र ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले बताए।

अभियानका क्रममा सार्वजनिक यातायात सुधारका लागि पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्न यातायात व्यवसायीको माग गरेका थिए। व्यवसायीहरूले सुधारका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका थिए।

काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलले यस्ता अभियानले धेरैलाई जिम्मेवार नागरिक बनाउन मद्दत गर्ने धारणा राखिन्। ३० वर्ष अघिको सडक ऐनले वर्तमानको आवश्यकता सम्बोधन गर्न नसक्ने भएकाले संशोधन गर्नुपर्ने डंगोलले बताइन्।

काठमाडौंको न्युरोड गेटबाट सुरू भएको र्‍यालीमा सहभागी भई गृहमन्त्री मन्त्री लामिछानेले अभियानको सुरुआत गरेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित अभियान एक सातासम्म सञ्चालन हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *