भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयहरुलाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको छ ।

भारतीय राजदूतावास काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गतका ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरुप हस्तान्तरण गरेको हो । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई वर्षको दुई पटक एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । त्यसै अनुरुप आइतबार विभिन्न दुर्गम जिल्लाका स्थानीयलाई एम्बुलेन्स र स्कुल बसहरु हस्तान्तरण भएको छ ।

अर्थमन्त्री पुनले नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताए । उनँले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रूपमा रहेको उल्लेख गरे । उनले भारत सरकारले विभिन्न जिल्लाका स्वास्थ्य संस्था र विद्यालयको लागि ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स प्राप्त भएको बताए ।

‘नेपाल भारत सम्बन्धको प्रतिकको रुपमा स्कुल बस र विभिन्न स्वास्थ्य केन्द्रहरुको लागि एम्बुलेन्सहरु भारत सरकारबाट प्राप्त भएको छ । म धन्यवाद व्यक्त गर्दछु । नेपाल भारतको परिचयको रुपमा पनि यो रहेको छ । आगामी दिनमा पनि यस्तो सहयोग जारी रहनेछ । भारत सरकारले ६६ वटा स्कुल बसहरु र ३५ वटा एम्बुलेन्सहरु प्राप्त भएको छ,’ पुनले भने ।

अर्थमन्त्री पुनले भारत सरकारको यस्तो सहयोग परियोजनाले दुई देशबीचकोे सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर