झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक रहेको बताएका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका–४ नारिंगेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले झण्झटिलो प्रशासनिक सेवालाई सहज र सरल बनाउँदै भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिए ।
‘व्यवस्था फेरिए पनि अवस्था फेरिएन भन्नेहरुका लागि एकातिर विकासका गतिलाई तीव्रता दिनु छ भने अर्कोतर्फ संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प छैन,’ उनले भने ।

राष्ट्रपति पौडेलले समृद्ध र समुन्नत म्याग्दे बनाउने योजनालाई जनप्रतिनिधि, कर्मचारी र गाउँवासीले सहकार्य गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे । सवैधानिक व्यवस्थाअनुसार स्थापित गणतान्त्रिक नेपालको महत्वपूर्ण आधार संरचना स्थानीय तह भएकाले जनताका आकांक्षा पूरा गर्नेतर्फ दृढ रहन उनले आग्रह गरे ।

विगतमा सिहंदरबारमा केन्द्रीकृत शासन व्यवस्थालाई घरदैलोमा नै ल्याएर सेवा सुविधा दिने स्थानीय तह शासन प्रणालीको बलियो आधार भएको उनको भनाइ थियो ।

स्थानीय तहका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले भने, ‘देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका बेला यस गाउँपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी सेवासुविधालाई सहज र प्रभावकारी बनाउन सुविधासम्पन्न प्रशासकीय भवन बनाएकामा म धन्यवाद भन्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर