सत्ता गठबन्धनसँग चिढिएका नेपालसँग देउवाको भेट, वैकल्पिक गठबन्धनको गृहकार्य सुरु

सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। उनीहरूबीच काठमाडौं गोल्फुटारस्थित एक नेताको घरमा बुधबार साँझ भेटघाट भएको स्रोतको दाबी छ।

यसको स्वतन्त्र पुष्टि भने भएको छैन। पार्टी सचिवालय बैठकबाट दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री प्रस्ताव गरेर नेपाल देउवालाई भेट्न गएका हुन्।

सत्ता गठबन्धनमा खटपट र वैकल्पिक गठबन्धनको कुरा भइरहेका बेला दुई  नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोर  चौधरीलाई मुख्यमन्त्री बनाउन नेकपा एसले पनि साथ दिने भन्दै सत्ता गठबन्धनलाई चुनौती दिएको थियो।

स्रोतका अनुसार देउवा र नेपालीबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माण र केन्द्रमा वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भएको छ। अहिले नेकपा एस सत्ता गठबन्धनबाट बाहिरिए प्रदेशतर्फ मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धन बाहिरबाट सरकार बन्न सक्छ। नेकपा एस एमाले, माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट बाहिरिए जनता समाजवादी पार्टी (जसपा) पनि बाहिरिन सक्ने कांग्रेसको बुझाइ छ।

नेपाली कांग्रेससहितको अर्को गठबन्धन बनेमा तत्कालको अंक गणित भने वर्तमान सरकारकै पक्षमा देखिन्छ। एमाले र माओवादी केन्द्र एकै ठाउँमा रहेसम्म सत्ता गठबन्धनमा दरार उत्पन्न हुने अवस्था छैन।

अहिले सत्ता गठबन्धनमा ३२ सांसद माओवादी केन्द्रका, ७८ सांसद एमालेका, २१ सांसद रास्वपाका, १२ सांसद जसपाका, १० सांसद नेकपा एसका र चार सांसद नाउपाका छन्। सत्ता गठबन्धनसँग १५७ सांसद छन्। यसमध्येको नेकपा एस बाहिरिँदा गठबन्धनमा १४७ सांसद हुन्छन्। नाउपामा विवाद छ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सत्ता गठबन्धनको पक्षमा र संरक्षक रेशम चौधरी विपक्षमा छन्। यसरी हेर्दा नाउपाले पनि अनुकूलतामा सत्ता गठबन्धन छाड्न सक्छ। नाउपाले पनि गठबन्धन छाडे सरकारको समर्थनमा १४३ सांसद रहन्छन्। यस्तो अवस्थामा जसपा पनि सत्ता गठबन्धनबाट बाहिरिए पुष्पकमल दाहाल नेतृत्वको सरकार संकटमा पर्न सक्छ।

गत फागुन २१ गते प्रधानमन्त्री दाहालले एमालेको साथमा सत्ता गठबन्धन बदलेपछि कांग्रेस प्रतिपक्षमा छ। प्रतिपक्षमा पुगेको कांग्रेस वैकल्पिक गठबन्धनको प्रयासमा छ। उसले केन्द्रमा दाहाल सरकारको विकल्प खोजिरहेको छ। यसका लागि कांग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नेपालले अस्वीकार गरेका थिए।

नेकपा एसले सुदूपश्चिम प्रदेश सरकार गठनमा नेपाली कांग्रेससँग मिल्ने चेतावनी दिएपछि मंगलबार बिहान वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री दाहाललाई भेटेर सहजीकरण गरेका थिए। त्यसपछि माओवादीसहितको सत्ता गठबन्धन नेकपा एसलाई मुख्यमन्त्री दिन सहमत भएको थियो।

सहमतिबमोजिम नेकपा एसले मुख्यमन्त्रीमा अघि सारेका सोडारीलाई भने एमालेले अस्वीकार गरेको छ। सोडारीको विगत सकारात्मक नभएको भन्दै विकल्प दिन एमालेले आग्रह गरेको थियो। तर नेकपा एस सचिवालय बैठकले उनैलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेपछि एमालेले सहयोग गर्ने हो कि होइन भन्ने शंका उत्पन्न भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली इलाम गएकाले सहयोग गर्ने नगर्ने विषयमा केही भन्न नसकिने नेताहरूले बताएका छन्।

नेकपा एस सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सोडारीलाई नै अघि सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको ८०औं सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर