टोक्यो ओलम्पिकमा डोपिङ उल्लंघन गरेका चिनियाँ खेलाडी सहभागी

डोपिङ टेस्टमा फेल भए पनि चिनियाँ पौडी खेलाडीहरु सन् २०२१ मा जापानको टोक्योमा आयोजित ओलम्पिकमा सहभागी भएको खुलासा भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ओलम्पिकमा सहभागी भएका २३ चिनियाँ पौडी खेलाडीले प्रतिबन्धित औषधि सेवन गरेको पाइएको छ ।

न्युयोर्क टाइम्सका अनुसार ती खेलाडीले विभिन्न मेडल पनि जितेका थिए । अहिले उनीहरु पेरिसमा हुने ओलम्पिकको तयारीमा पनि रहेको उक्त सञ्चारमाध्यमले जनाएको छ ।

विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) ले चिनियाँ खेलाडीले प्रतिबन्धित ट्रिमेटाजिडिन सेवन गरेको परीक्षणको क्रममा फेला पारेको थियो । तर, चिनियाँ अधिकारीले भने प्रदूषणको कारणले यस्तो भएको जनाएका थिए, जसलाई वाडाले पनि स्वीकार गरेको थियो ।

वाडाका विज्ञान र औषधिका वरिष्ठ निर्देशक ओलिभर रविनले चिनियाँ अधिकारीको दाबीलाई चुनौती हुने प्रमाण फेला नपरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । त्यसपछि चिनियाँ पौडी खेलाडी प्रतियोगितामा सहभागी भएका थिए भने उनीहरुले सामूहिक रुपमा तीन स्वर्णसहित ६ वटा पटक जितेका थिए ।

वाडाको निर्णयको अन्य देश र खेलकुदका निकायले भने विरोध गरेका छन् भने वाडाको भूमिकामाथि नै प्रश्न गरेका छन् । अमेरिकी एन्टी–डोपिङ एजेन्सी (यूएसएडीए) का सीईओ ट्राभिस टाइगाटले यो प्रकरणलाई राम्रोसँग सम्बोधन गर्न नसकेको भन्दै वाडा र चिनियाँ एन्टी–डोपिङ एजेन्सीको आलोचना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *