काठमाडौं आइपुगे कतारका अमिर अल थानी

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । आफ्नो निजी विमानमा दिउँसो ३ः३५ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

कतारबाट नेपालमा यो हालसम्मकै उच्चस्तरीय भ्रमण हो । अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणमा आएका हुन् । उनी बुधबार कतार फर्किनेछन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरे । स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए ।

यसैगरी कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए ।

नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएकोे अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने, कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने तथा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *