हिमालयन हाइड्रो एक्स्पो–२०२४ सुरु

विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले र्यालीको उद्घाटन गरे । आज बिहान इभी –याली आयोजना गरी विद्युतीय सवारी प्रवद्र्धन र विद्युत खपत बढाउने सन्देशसहित चौथो संस्करणको एक्स्पोको सुरुआत गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

र्याली उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई सार्थक बनाउने विश्वास व्यक्त गरे ।

‘हाइड्रो एक्स्पो अघि सुरु भएको यो र्यालीले स्वदेशी विद्युत खपत बढाउन र विद्युतीय सवारी प्रवद्र्धनमा सहयोगी सावित हुनेछ,’ उनले भने, ‘हाइड्रो एक्स्पो नेपालको विद्यत् क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुनेछ ।’

इप्पान अध्यक्ष गणेश कार्कीले ‘हाम्रो बिजुली, हामी आफैँ खपत गरौँ’ भन्ने उद्देश्यले इभी र्याली आयोजना गरिएको बताए । सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट विद्युत् खपत गर्ने लक्ष्य लिएको छ । त्यसका लागिसमेत विद्युतीय सवारी र्यालीले थप प्रवद्र्धन हुने उनको आशा छ ।

एक्स्पोको पहिलो दिन तीन वटा प्राविधिक सत्र राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको औपचारिक उद्घाटन गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *