मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् ।

बिहीवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रालयमा बजेट न्युन भएका कारण लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका हुन् । देशभरका जनप्रतिनिधि खेलकुदको क्षेत्रमा बजेट माग गर्दै आउने गरेको श्रेष्ठले बताए ।

जनप्रतिनिधिको माग अनुसार बजेट दिन नसकिने उनले बताए । श्रेष्ठले खेलकुद पूर्वाधारको क्षेत्र समयसापेक्ष रुपले विकास हुन नसकेको बताउँदै नीतिगत रुपमा खेल क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताए ।

मन्त्री श्रेष्ठले भने, ‘मन्त्रालय कम बजेटमा चलाउनु परेको छ । देशभरका जनप्रतिनिधिहरु वडा सदस्य, गाउँपालिका प्रमुखदेखि लिएर प्रदेशका सांसद, सभामुख, प्रदेशका मन्त्रीसम्म योजना माग्न आउनुहुन्छ । उहाँहरुलाई हामीले वस्तुस्थितिको बारेमा भन्दाखेरी देशको बजेट भन्दा ठुलो माग खेलकुद पूर्वाधारको माग भएर आएको छ । उहाँहरुलाई बुझाउँदै पठाउँदा, उहाँहरु पनि के कुरामा चित्त बुझाएर जानुहुन्छ भने कम्तिमा तपाईलाई हाम्रो माग राखेका छौँ भनेर फोटो खिचाएर जाउ भनेर पनि चित्त बुझाएर जानु भएको छ अहिलेसम्म । जनतालाई हामीले माग चाहीँ राखेका छौँ हुन्छ हुँदैन भन्नेसम्म । यो स्थिति छ । अहिले खेलकुद मन्त्रालयको बजेटले साँच्चिकै काम गर्न सक्ने भनेको लुँडो र चेस नै हो । लगायत बागचालका खेलहरु मात्रै हुन् ।’

उनले थपे, ‘नारायणी रंगशाला वीरगञ्जको अवस्था जिर्ण छ । दशरथ रंगशाला त्यस्तै छ । समयसापेक्ष हिसाबले खेलकुद कहाँ पुगिसक्यो । पूर्वाधारमा सापेक्षताको सिद्धान्तमा काम गर्न सकिएको छैन । बजेटको अभाव हो । समय सापेक्ष पनि हुन सकिरहेको छैन । नीतिगत रुपमा नै सुधार गर्नको लागि मन्त्रालयले खेलकुद परिषद्लाई स्पष्ट निर्देशन दिएको, रंगाशाला सञ्चालन, प्रयोग तथा मर्मत कार्यविधि बनाई सकेको छ परिषद्ले । त्यसलाई आगामी बोर्ड बैठकमा अनुमोदन भएपछि व्यक्तिले होइन कुनै विधिले रंगशाला राम्रोसँग कार्यान्वनय हुने काम भइरहेको छ ।’

मन्त्री श्रेष्ठले खेल क्षेत्रको सुधार गर्नका लागि राजनीतिक आवद्धता त्याग्नुपर्ने बताए । उनले संघहरु दलहरुअन्तर्गत रहेको भन्दै त्यसले खेल क्षेत्रको विकास हुन नसक्ने बताए । श्रेष्ठले दशरथ रंगशाला समयसापेक्ष नभएको भन्दै विदेशीहरुले भने अनुरुपको मापदण्ड रंगशालामा कायम गर्न नसकिएको बताए ।

युवा तथा खेलकुद मन्त्रालय योभन्दा तल जाने ठाउँ नै नरहेको भन्दै उनले अब जे गरेपनि राम्रो हुने बताए । दशरथ रंगशालामा खेलकुद बाहेकका गतिविधिलाई रोक्नुपर्ने पनि श्रेष्ठले बताए । उनले भने,  ‘बहुदलीय व्यवस्था संसदमा भयो । त्योभन्दा बढी व्यवस्था त संघहरुमा छ । केही गर्न खोज्यो भने मुद्दा हालिदिने रहेछ । दुई महिना भयो मैले जिम्मेवारी लिएको, मैले नेपालको राजनीतिक व्रह्माण्ड नै देखेको जस्तो भएको छ ।’

मन्त्री श्रेष्ठले दशरथ रंगशालाको विकल्पको रुपमा काठमाडौं उपत्यकाभन्दा बाहिर रंगशाला बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर