स्वतन्त्र प्रेस बिना स्वतन्त्र न्यायपालिकाको कल्पना गर्न सकिँदैन : प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताएका छन् ।

शुक्रवार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यापालिका र सञ्चार जगत लोकतन्त्रका महत्वपूर्ण आधारस्तम्भहरु भएको बताए ।

‘न्यापालिका र सञ्चार जगत लोकतन्त्रका महत्वपूर्ण आधारस्तम्भहरु हुन् । यसको अभावमा लोकतन्त्र बलियो हुन सक्दैन । साथै स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितता बिना कानूनको शासन समृद्ध बन्न सक्दैन । नेपालको संविधानको प्रश्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता, सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणालाई आत्मसाथ गरेको छ । त्यसैले स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रतालाई एकअर्काको परिपूरक र अन्तरसम्बन्धित आवरण वा मान्यताका रुपमा लिने गरिन्छ । स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन । न्यायपालिका र सञ्चार क्षेत्रको भुमिका र जिम्मेवारी फरक भएपनि लक्ष्य, उद्देश्य एउटै हो भन्ने मलाई लाग्छ । त्यो हो स्वतन्त्र न्याय, नागरिक अधिकारको संरक्षण, न्यायपूर्ण समाजको प्रत्याभुति गर्नु नै हो । न्यायपालिका र संविधानको आत्मा नागरिकको आस्थाबाट जीवन्त हुने संस्था हो । नागरिकका त्यसप्रकारका आस्था र भरोसा सावित गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहन्छ । न्यायपालिकाको जिम्मेवारी, भुमिका र कार्यप्रगति विशिष्ट र संवेदनशील हुन्छ । न्यायपालिकाको कार्यप्रकृति र त्यसको संवेदनशीलताका बारेमा सञ्चार जगत लगायत संवद्ध सबैमा सोहीअनुरुपको दृष्टिकोण रहनु वाञ्छनीय हुन्छ । न्यायपालिकाको आभास भनेको न्याय सम्पादनको रोहमा गर्ने फैसला र आदेश नै हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *