राजेश हमाल भन्छन्, ‘अहिले च्याउ उम्रिएझैं होटलहरू बन्दै गए’

महानायक राजेश हमालले होटल व्यवसाय नेपालको अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको ‘नेपाल होटल अवार्ड–२०२२’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले होटल व्यवसाय नेपालको अर्थतन्त्रका लागि महत्त्वपूर्ण भएको बताएका हुन्।

उनले नेपाल पर्यटनको आकर्षण केन्द्र रहेकाले धेरै भन्दा धेरै पर्यटकहरूलाई नेपाल भित्र्याउन सके नेपालले अर्थतन्त्रमा फड्को मार्ने बताए। महानायक हमालले अहिले नेपालका विभिन्न स्थानमा हातमा गन्न नसकिने होटलहरू भइसकेको भन्दै ती होटलको व्यवस्थापन र सञ्चालन कसरी भएको भन्ने बारेमा पनि निरीक्षण हुन जरुरी रहेको बताए। उनले देशमा अहिले च्याउ उम्रिएझैं होटलहरू बन्दै गएपनि तिनीहरूको गुणस्तर कस्तो छ भन्ने कुराले पर्यटकहरूको ध्यानाकर्षण हुने बताए।

उनले भने, ‘जुन बेलादेखि नेपालमा विदेशीहरुको लागि ढोका खुल्यो १९६० को दशकमा, त्यसपछि नेपाल एउटा पर्यटनको आकर्षण क्षेत्र हो भनेर चिनिँदै आएको हो। अहिले निर्वाचन आयोग भएको ठाउँमा रोयल होटल भन्ने नाममा एक होटल थियो। त्यसपछि सोल्टी हुँदै यहाँसम्म आइसकेका छौं। हातमा गन्न नसकिने होटलहरू देशव्यापी रूपमा बन्दै गएका छन्। होटल सेक्टर राष्ट्रको इकोनोमीको लागि महत्त्वपूर्ण छ। यो तलमाथि हुने बित्तिकै अर्थतन्त्रमा धेरै नै असर पार्छ। नेपाल पर्यटन क्षेत्रमा महत्त्वपूर्ण राष्ट्र हो। हाम्रोमा अहिले च्याउ उम्रिएझैं होटलहरू बनेका छन्। ती होटलहरूको गुणस्तर कस्तो छ, कसरी सञ्चालित भएका छन् भन्ने परिचय बाहिर आउन जरुरी छ।’

महानायक हमालले रेण्डरबुकिङ डटकमले नेपालमा नै पहिलो पटक खुला नोमिनेसन तथा गोप्य र आधुनिक प्रक्रियाबाट मूल्यांकन गरिने गरी विभिन्न १५ बढी विधामा नेपाल होटल अवार्ड–२०२२ आगामी पुष ४ गते सञ्चालन गर्नुले कोरोना कालमा खुम्चिएको पर्यटन र अर्थतन्त्रको विकासका लागि सहयोग पुग्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *