अन्तिमपटक प्रधानमन्त्री हुने प्रचण्डको इच्छा, संसदीय निर्वाचनबाट माओवादी दोस्रो शक्ति बन्ने दाबी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् ।

शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।

उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताए ।

उनले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना बुनेको बताए । अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो राजनीतिक शक्ति माओवादी बन्ने दाबी गरे ।

उनले दोस्रो शक्ति बनाउनेगरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी दिए । अध्यक्ष दाहालले नेत्रविक्रम चन्द, मोन वैद्य र पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई माओवादी नभएको दाबी गरे । उनले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओावदी (माओवादी केन्द्र) मात्रै रहेको जिकिर गरे ।

अध्यक्ष दाहालले माओवादीले किसान लक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको बताए । उनले किसानलक्षित बजेट ल्याएका कारण प्रतिक्रियावादीहरू, बुर्जुवाहरू र दलालहरू आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको बताए ।्

अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको उल्लेख गरे । उनले माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको दाबी गरे ।

अध्यक्ष दाहालले देश विकास गर्ने कुरा माओवादी बिना सम्भव नरहेको उल्लेख गर्दै आउने तीन महिना माओवादीका लागि चुनौतीपूर्ण रहेको बताए । उनले देशको राजनीतिक मानचित्र बदल्न सक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

अध्यक्ष दाहालले समाज भत्काउने प्रतिगमनकारीहरूले राजनीतिमा बूढापाकाहरू चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताए । उनले अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने उद्घोष गरे ।

उनले आगामी प्रदेश र संघको निर्वाचनमा मान्छे हेरीहेरी टिकट बाँड्न पाइने भएकाले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको उल्लेख गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर