रेशम चौधरीको आममाफीबारे गगन- यो राजाको शासन होइन, कसैको हुकुम चल्दैन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन्। सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले आवश्यकताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानूनको शासन मान्नुपर्ने बताए। उनले नेपालको कानूनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानूनको बन्दोबस्तभन्दा बाहिर कोही पनि जान नमिल्ने बताए।

उनले सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्‍याे, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसाबले मात्रै यसलाई लिन नहुने बताए। उनले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने बताए। उनले सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानूनलाई मिच्न नहुने बताए।

उनले राष्ट्रहितविपरीत गरिने निर्णयले भविष्यमा आफैंलाई पछुतो हुने बताए। महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्णपाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरे पनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताए। विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने उनले बताए।

महामन्त्री थापाले नेपाली कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको बताए। उनले आजका युृवाहरूमा कांग्रेसप्रति निराशा हुनुको मूल कारण सत्ता र सरकारका लागि कांग्रेसले मरिमेट्नु रहेको उल्लेख गरे। यस्ता गल्ती गल्ती भएकै ठाउँबाट सच्याउनुपर्ने उनले बताए।

उनले पार्टीमा अब पनि यस्ता गल्तीहरू स्विकारेर अघि नबढ्ने बताए। महामन्त्री थापाले नेपाली कांग्रेसले अब कहिल्यै पनि चुनावअघि गठबन्धन नगर्ने प्रतिबद्धता जनाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर