संसद्मा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

सोमबार संघीय संसद् सचिवालयमा आयोजित ‘संसद्मा कानुन, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्ला दिन संसद्मा गणपूरक संख्या नपुगेकोप्रति असन्तोष व्यक्त गरेका हुन् ।

पछिल्लो समय संसद्मा हाजिर गरेर सांसदरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक संख्या पुग्न छोडेको छ । आइतबार मात्रै बसेको प्रतिनिधि सभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदहरूको गणपूरक संख्या नपुग्दा मंगलबाररसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो ।

उनले संसद्लाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पास गर्न संसद्लाई अफ्ठ्यारो भइरहेको बताए । उनले संसद्मा विधेयक पास गर्नको लागि धेरैपटक घण्टी बजाउनुपरेको र मन्त्रीहरू बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरू जिम्मेवार र गम्भीर हुनुपर्ने बताए ।

सभामुख सापकोटाले समितिमा दोहोरोपन देखिएको बताए । उनले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएको हो वा होइन भन्ने कुरा स्वयं समितिले आत्मालोचना गर्नुपर्ने बताए ।

उनले देशको धरातलीय यथार्थअनुकूल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको बताए । सरकारलाई समितिले आफ्ना निर्देशन लागू गर्न बाध्य पार्ने कुरा भनेको धरातलीय यथार्थ बुझेर जनहितमुखी निर्देशन हुनुपर्ने बताए ।

सभाुमख सापकोटाले सरकार उदीयमान व्यवस्थापिकाको पक्षमा रहेको बताए । उनले संघीय संसद्लाई जीवन्त र जनमुखी बनाउनुपर्ने बताए । सभामुख सापकोटाले अहिले विश्वव्यापी रूपमा अभिभावक खाँचो भएको जस्तो महसुस भएको बताए । उनले अरूले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट नरहेको भन्दै आफैंले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *