#ठोकोताली

काम बिगार्ने काउन्सिल, सत्तोसरापमा सीआईबी

केन्द्रीय अनुसन्धान ब्यूरोलाई आधा दशकभन्दा अघि नेपाल मेडिकल काउन्सिल, इन्जिनियरिङ परिषद्, नागरिक उड्डयन प्राधिकरणले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा उच्चशिक्षा लिएर हाल डाक्टर, इन्जिनियर र पाइलट बनेकाहरूको सूची बुझाएको थियो । यो सूची लामो छ । करिब तीन हजारको हाराहारीमा रहेको अनुसन्धान अधिकारी अनुमान गर्छन् ।

नक्कली शैक्षिक प्रमाणपत्रधारीहरूको यो सूची तत्कालीन प्रहरी नायब महानिरीक्षक राजेन्द्रसिंह भण्डारी (अतिरिक्त महानिरीक्षकबाट अवकाश) को पहलमा सम्बन्धित निकायहरूले ‘किस्ता–किस्ता’ मा पठाएका थिए । अवकाश प्राप्त एआईजी भण्डारी सीआईबीका संस्थापकमध्ये एक पनि हुन् । उनले सीआईबीमा नक्कली शैक्षिक प्रमाणपत्रधारीविरूद्धको कारबाहीका लागि नाम दिएका थिए– ‘अपरेशन क्वाक’ । यो अपरेशन लामो चल्यो ।

अपरेशन क्वाकले धेरै नक्कली चिकित्सक, प्राविधिक र पाइलटहरूको मखुण्डो उघा¥यो । तर, ‘नेपालको कानून दैव नै जानून्’ भनेजस्तै पछिल्ला केही घटनामा भने अपरेशन क्वाकअन्तर्गत सीआईबीले नियन्त्रणमा लिएर अदालत बुझाएका धेरैले सफाइ पाए । किन पाए ? यसको जवाफ भने सम्मानित न्यायमूर्ति वा न्यायालयकै जिम्मा भयो ।

यतिबेला ब्यूरोको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्रचार्यले गरिरहेकी छन् । प्रहरी सेवामा रहँदा उनको एसपीका हैसियतमा सीआईबी बसाइ सुखद् थियो । उनले यहीँ रहँदा आफ्ना सिनियरको छाती चौडा बनाएकी थिइन् ।

मानव बेचबिखन तथा ओसारपसारको अन्तर्राष्ट्रिय सञ्जाल तोड्दै उनको नेतृत्वमा चलाइएको अपरेशनले अफ्रिकी देशमा नारकीय जीवन जिउन बाध्य नेपाली चेलीहरू घर फर्किन पाए । यो अपरेशनमा धेरै सरकारी अधिकारीदेखि आरोपीसम्म प्रतिवादी बने ।

ब्यूरोमा रहँदा किरणको कर्मलाई संयुक्त राज्य अमेरिकाले समेत सम्मान गर्‍याे । उनलाई मानव बेचबिखन तथा ओसारपसारविरूद्ध अमेरिकाले वर्ष महिलाको उपाधि दियो । उनी ‘हिरो’ बनिन् ।

अहिले ब्यूरोको कमाण्ड सम्हालेपछि उनमा केही नयाँ गरौं भन्ने हुटहुटी रहेको हुनुपर्छ । त्यसैले उनले आफ्ना व्यावसायिक अभिभावक भण्डारीकै मार्ग पछ्याउँदै अपरेशन क्वाकलाई नयाँ ढंगले अघि बढाउन चाहिन् । यसको सुरूवात उनले ब्यूरोबाट अपराधका प्रकृति हेरेर सञ्चालन भइरहेका अपरेशनको नामबाट गरिन् । नक्कली प्रमाणपत्र (फेक सर्टिफिकेट) विरूद्धको कारबाहीका लागि नाम दिइयो– ‘अपरेशन फोक्सट्रोट चार्ली’ ।

यही अपरेशनअन्तर्गत नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा, त्यसपछि चिकित्सकहरू समाउने क्रम सुरू भयो । यो ब्यूरोले ‘राजनीतिक मौसम’ हेरेर चलाएको अपरेशन थिएन । तर, संसदमा सुन तस्करी प्रकरणमा आफ्नै पार्टीका मन्त्रीविरूद्ध बोलिरहेका शर्माका लागि अनुकूल बनेन र राजनीतिक विरोधको मौकामा रहेको एमालेका लागि यो सुनको किस्तीमा सुम्पिएको सुनौलो अवसर बन्यो । शर्मालाई अदालतले बाहिरै राखेर अनुसन्धान गर्ने मौका दिएको छ ।
खेल यतिमै रोकिएन ।

पछिल्लो ४८ घण्टादेखि सीआईबी सामाजिक सञ्जालमा आलोचनाको पात्र बनेको छ । धेरैले नबुझी र प्रमाण नभई निर्दोषलाई नियन्त्रणमा लिएको भन्दै ब्यूरोको आलोचना गरिरहेका छन् । जुन जायज मात्र होइन, आवश्यक पनि छ ।

तर, ब्यूरोको फोक्सट्रोट चार्ली अपरेशन सम्बन्धित नियमनकारी निकायमा निर्भर रहेको यथार्थ यहाँ ओझेलमा परेको छ ।

प्रसंग हो, नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको भन्दै प्रहरीले पक्राउ गरेका डा रञ्जितकुमार यादवको । उनी ससम्मान रिहा भएका छन् । तर, उनले पाएको यो सजायको भरिपूरण देशको कुनै कानून र व्यवस्थाले गर्न सक्दैन ।

महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका डा. यादवलाई सीआईबीले आइतबार हिरासतमुक्त गरेको हो।

सीआईबीले उनलाई २६ साउनमा पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो।

अनुसन्धानका क्रममा उनी वास्तविक प्रतिवादी नभएको खुलेपछि उनलाई छाडिएको हो।

सीआईबीले नेपाल मेडिकल काउन्सिलसँग आइतबार यादवको थप प्रमाणपत्र माग गरेको थियो। काउन्सिलले सीआईबीलाई उनको दर्ता प्रमाणपत्र र आवदेन फारम भुलवश संलग्न हुन गएको व्यहोराको पत्र पठाएपछि उनी छुटेका हुन्।

कुरो क्लियर छ । सुरूमा डा. यादव नक्कली शैक्षिक प्रमाणपत्रधारीको सूचीमा थिए । ब्यूरोले त्यही आधारमा पक्राउ गर्‍याे । उनीसँगको सोधपुछमा उनले आफू निर्दोष भएको बताइरहे । ब्यूरोका अधिकारीहरूले काउन्सिलसँग थप प्रमाण मागे । उसले ‘भुलवश’ भन्यो ।

यहाँ कारबाही सही वा गलत, निर्दोष र दोषीबीचको भिन्नता र कारबाही प्रक्रिया, जिम्मेवारी, अधिकार र दायित्वसँगै वादविवाद र आलोचना प्रक्रिया र नियतमाथि हुनुपर्ने थियो ।

तर, हातमा ‘टुनटुनिया’ छ । मनमा ‘छुनछुनिया’ । अनि दिमागले थोरै सोच्छ । मनले धेरै भन्छ । कान र आँखाहरू ‘निर्देशित’ छन् ।

अनि स्ट्याटस र पोष्टको बमबारी गर्न हामीलाई कसले रोक्ने, कसले छेक्ने ?

होइन त ? कि कसो त ?

#ठोकोताली ।

(ठोकोताली समाचार, विचार, विश्लेषण र व्यंग्यको रोचक तथा घोचक प्रस्तुति हो । यसमा प्रस्तुत विषय कुनै व्यक्ति विशेष नभई समग्र प्रवृत्तिप्रति लक्षित हो ।)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर