महानिरीक्षकद्वय सिहं र अर्याल अमेरिकामा द्विपक्षीय भेटवार्तामा व्यस्त

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सञ्चालित राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको तेस्रो सम्मेलनमा सहभागी नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल द्विपक्षीय भेटवार्तामा व्यस्त बनेका छन्।

भेटमा महानिरीक्षकद्वयले विभिन्न देशका सुरक्षा प्रमुखहरूसँग साझा सुरक्षा, अन्तर्राष्ट्रिय अपराध सञ्जाल, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध नियन्त्रणलगायतका विषयमा छलफल गरेका छन्।

सम्मेलनमा सहभागी हुन महानिरीक्षकद्वय सिंह र अर्याल सोमबार अमेरिका गएका थिए। बुधबारदेखि सुरु भएको सम्मेलन शुक्रबार सकिँदैछ।
सम्मेलनमा महानिरीक्षकद्वयसँगै प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा समेत सहभागी रहेका छन् ।

सम्मेलनमा संयुक्त राष्ट्र प्रहरी र अन्य कानून प्रवर्तन मामिलाहरूको लागि प्रणाली निर्माणसहित संयुक्त राष्ट्र प्रहरी डिभिजनको भूमिकालाई परिचालनसम्बन्धी विषयमा छलफल भइरहेको छ। यस्तै संयुक्त राष्ट्र प्रहरीभित्र लैंगिक समानतालाई अगाडि बढाउन स्वैच्छिक कम्प्याक्टको सुरुवातसहित क्षमताहरू सुदृढ गरेर संयुक्त राष्ट्र प्रहरीको कार्यसम्पादन अभिवृद्धि गर्ने जारी प्रयासहरूलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको छ।

नेपाल प्रहरीमा महानिरीक्षक सिंहको अनुपस्थितीमा अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा र सशस्त्रमा महानिरीक्षक अर्यालको अनुपस्थितीमा अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले जिम्मेवारी सम्हालेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *