अध्यक्ष ओलीको आलोचना गर्ने रावल र भूसाललाई एमालेले टिकट दिएन

नेकपा एमालेले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरूलाई भने पाखा लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेससभा टिकट वितरण गर्दा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका नेताहरूलाई दण्डित गरिएको छ ।
राप्रपालाई सिट छाड्ने मात्र होइन, विभिन्न दलबाट भर्खरै प्रवेश गरेका व्यक्तिहरूलाई टिकट दिए पनि अघिल्लो महाधिवेशनमा उपाध्यक्ष र उपमहासचिवमा निर्वाचित नेताहरूसहित नेताहरुलाई प्रतिनिधिसभा उम्मेदवारीबाट वञ्चित गरिएको छ । एमालेले पूर्वउपाध्यक्ष भीम रावल, पूर्वउपमहासचिव घनश्याम भुसाल टिकट काटिएको छ । १० बुँदे सहमति गर्दै पुरानो विवाद बिर्सन तयार भएका नेताहरूको पनि बफादारिता परीक्षण गरेर मात्र टिकट वितरण भएको छ ।
अछाम–१ बाट एकल सिफारिस भएका पूर्वउपाध्यक्ष रावलको नाम नेतृत्वले काटेको छ । माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बोहोरा यो क्षेत्रबाट उम्मेदवार हुने भएका छन् । १० बुँदे सहमतिको पहल गरेका रावलले एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए ।
अघिल्लो पटक भुसाल निर्वाचित रूपन्देही–३ यसपालि भने एमालेले राप्रपालाई छाड्ने सहमति गरेको छ । शुक्रबार साँझ अध्यक्ष ओली निवास बालकोटमा दुई दलबीच भएको वार्तामा रूपन्देही–३ सहित तीनवटा निर्वाचन क्षेत्र राप्रपालाई दिने टुंगो लागेको छ । राप्रपाले रूपन्देहीबाट दीपक बोहोरालाई उम्मेदवार बनाउनेछ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भुसालले बोहोरालाई पराजित गरेका थिए । रूपन्देहीबाहेक झापा–३ र बाँके–२ पनि राप्रपाले पाउने भएको छ । झापा–३ बाट अध्यक्ष लिङ्देन र बाँके–२ मा धवलशमशेर राणा चुनाव उठ्ने तयारीमा छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार साँझ सिट बाँडफाँटको विषयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *