लगे रहो, डियर एक्सन मिनिस्टर

उनी आफै फिल्डमा उत्रेर अनुगमन गर्छन्, गलत भएको पाइए तत्काल कारबाही प्रक्रिया अघि बढाउँछन् । आफूलाई लागेको निर्णय गर्न र स्पष्ट रुपमा आफ्नो धारणा राख्न उनी कत्ति पनि हिच्किचाउँदैनन् । जनताको मन जित्ने निर्णयका कारण यतिबेला उनको वाहवाही छ ।

यद्यपि, उनका केही निर्णयहरु अझै आलोचनाको कठघरमा उभिएर सत्यको प्रतिक्षामा नभएका भने होइनन् ।

उनै मन्त्री आले कहिले विवादित अभिव्यक्तिका कारण आलोचना पनि उत्तिकै खेप्छन् । उनीमाथि टीकाटिप्पणी भइरहन्छ । कहिले प्रशंसा त कहिले आलोचना । आलोचना खेप्नुपर्ने पछिल्लो निर्णय हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन आउनेले आगमन कक्षमा बसेबापत शुल्क तिर्नुपर्ने । नयाँ आगमन कक्षको सञ्चालनको जिम्मा पाएको कम्पनीले आगमन कक्षमा बस्न चाहनेका लागि पचास र सय रुपैयाँ शुल्क तोकेको थियो । तर यसले भने सर्वसाधारण मारमा पर्ने भएपछि आलोचना भएको छ । आलोचनापछि यो निर्णय फिर्ता भएको छ ।

कहिले वाहवाही त कहिले गाली ।

एकै सिक्काको दुई पाटा जसरी कहिले ताली त कहिले गालीलाई स्वीकार्दै आफ्नो निरन्तर कर्ममा छन्, संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेमबहादुर आले ।

नामको अर्थ जसरी उनले काममार्फत जनताको माया मात्र पाएका छैनन्, आलोचना पनि खेप्दै आएका छन् । आलोचना गर्नेले जेजस्तो रुपमा गरे पनि मन्त्री आले आफ्नो कामका कारण निरन्तर चर्चामा छन् ।

सूदूरपश्चिम प्रदेशको डोटीबाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित भए पनि मन्त्री आले अहिले नेकपा एकीकृत समाजवादी पार्टीमा छन् । उनी माधवकुमार नेपाल निकट थिए । अन्तिम समयमा साथ दिए ।

बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई १ हजार ६३२ मत अन्तरले पराजित गर्दै आले निर्वाचित भएका थिए ।

सांसद रहँदा आले नेतृत्वको संसदीय अध्ययन उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्न सिफारिस गरेको थियो । पछि उक्त कार्यक्रममा भ्रष्टाचार भएको भन्दै सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेको थियो ।

त्यसपछि उनी एमालेबाट वनमन्त्री भए । उनको पृष्ठभूमि विवादास्पद काठ व्यवसायी भएको आरोप लगाउँदै कतिपयले उनको आलोचना पनि गरे । त्यतिबेला उनी आफ्नै अभिव्यक्ति कारण पनि चर्चामा आए । बोटविरुवाले कार्बनडाइअक्साइड फाल्छ भनी भाषण दिएपछि सामाजिक सञ्जालमा भाइरल भयो । उनको आलोचना भयो ।

तत्कालीन नेकपा फुटेपछि भने उनी केपी शर्मा ओलीको क्याम्पबाट माधवकुमार नेपालतर्फ सरे । एकीकृत समाजवादी पार्टीबाट फेरि पर्यटनमन्त्री बने ।

पर्यटनमन्त्री बनेपछि भने कामका कारण उनी निरन्तर चर्चामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा अन्य मन्त्रीको तुलनामा उनको चर्चा बढी छ ।

उनको चर्चा सुरु भएको थियो, नारायणहिटी दरबारमा निजी कम्पनीलाई व्यापारिक प्रयोजनका लागि जग्गा दिने निर्णय उल्टाउनु । दरबार क्षेत्रमा बतास समूहको कम्पनीले क्याफेटेरिया खोल्न सरकारसँग भाडामा जग्गा लिने सम्झौता गरेको थियो ।

सम्झौता विपरीत जग्गा प्रयोग र संरचना निर्माण भएको पाइएपछि उनी आफैं फिल्डमा पुगेर तत्काल संरचना भत्काउन निर्देशन दिए । छानबिन समिति गठन गरेर अध्ययन गराई जग्गा प्रयोगमा रोक लगाए । बतास समूहले नै पशुपतिस्थित धर्मशालामा सम्झौता विपरीत निर्माण र शुल्क लिएको पाइएपछि त्यसमा पनि उनले रोक लगाए । सम्झौता खारेज गर्ने निर्णय गरे ।

मन्त्री आलेको यो निर्णयले जनस्तरबाट ठूलो प्रशंसा पायो । उनलाई ‘एक्सन मिनिस्टर’को रुपमा धेरैले चर्चा गरे ।

करोडौं बक्यौता नतिरेका क्यासिनोलाई सूचनापछि करको दायरामा ल्याउने काम पनि मन्त्री आलेकै सक्रियतामा भएका छन् । यस्तै विवादमा परेका पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने (कारवाही प्रक्रियामा रहेको), सम्पदामा भएका अतिक्रमणविरुद्ध कदम चाल्ने, भैरहवाको टाइगर प्यालेस रिसोर्टमा सञ्चालित दुई वटा क्यासिनोको कर नतिरी भाग्न खोज्ने विदेश नागरिकलाई माइक वुुलसोभरलाई विमास्थलबाट पक्राउ गर्ने जस्ता कार्यले पनि आलेको चर्चा चुलिएको छ ।

तर, यसक्रममा उनी विवादमा पनि उत्तिकै परेका छन् । डोटीमा अक्सिजन सिलिन्डरमा आफ्नै तस्बिर राखेको विषयले पनि विवादमा आएका थिए । पछिल्लो समय क्यासिनोको लाइसेन्स वितरण, नियुक्त लगायत विषयमा कतिपयले उनीमाथि प्रश्न उठाएका पनि छन् ।

केही समयअघि भारतमा रहेका एक व्यक्तिसँगको विवादास्पद संवादले पनि उनको आलोचना भएको थियो । पछिल्लो समय बलिउड नायक सलमान खानसँग उनको संवाद पनि अहिले चर्चामा छ ।

प्रश्न उठिरहे पनि आले भने आफ्नो उही ‘ट्रेडमार्क’ शैलीमा नै काम गरिरहेका छन् । हक्की स्वभावका मन्त्री आले निर्णय लिन अक्मकाउँदैनन्, मनमा लागेको निर्धक्क बोल्छन्, काम चाँडो र पारदर्शी हुनुपर्नेमा जोड दिन्छन्, चाहे ताली पाइयोस् वा गाली ।

हामीले हिजो ऊ केही थियो भन्ने विषयलाई शंकाको सुविधा वा लाभ लिन अथवा दिन सक्छौं । तर आज उसले गरिरहेको कर्मलाई हिजो सम्झिएर नजरअन्दाज गर्न मिल्दैन । मन्त्री आलेले गरिरहेका कामले राज्य र नागरिकको भलो गरिरहेको उनीहरुकै जनमतले भनिरहेको छ ।

त्यसैले अहिलेलाई यति भनौं, ‘लगे रहो, डियर एक्सन मिनिस्टर’

ठोकोताली ।

(ठोकोताली समाचार, विचार, विश्लेषण र व्यंग्यको रोचक तथा घोचक प्रस्तुति हो । यसमा प्रस्तुत विषय कुनै व्यक्ति विशेष नभई समग्र प्रवृत्तिप्रति लक्षित हो ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *