नेप्से परिसूचक दुई हजार बिन्दुभन्दा तल, १८ महिना यताकै न्यून बिन्दुमा

पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २००० बिन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक मंगलवार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । मंगलबार नेप्से परिसूचक १९९६.२६ बिन्दुमा आएर रोकिएको हो ।

२०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको थियो । त्यसपश्चात् गत असारदेखि फराकिलो अंकले नेप्से सूचक र कारोबार रकमसमेत बढ्दै गएको थियो ।

गत साउन अन्तिमसम्म बजार बढेर ३२ सय अंकमाथि पुगेको थियो । तर चालु आर्थिक वर्ष लागेसँगै निरन्तर  नेप्से निरन्तर गिरावट हुँदै आएको हो । मंगलबार सेन्सेटिभ इण्डेक्स ६.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८ अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २३२ कम्पनीको ४१ लाख ४७ हजार कित्ता शेयर १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से ओरालो लागे पनि मंगलवार कारोबार रकम भने सामान्य बढेको छ ।

अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको कारोबार भएको थियो । कारोबारमा आएका कम्पनीमध्ये १९०  कम्पनीको शेयरमूल्य घटेको छ भने पाँच कम्पनीको शेयरमूल्य बढेको छ ।

मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्तको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेमा कारोबारमा आएको आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ८.१८ प्रतिशत बढेको छ । त्यस्तै,माउण्टेन हाइड्रोको करिव ४ प्रतिशत बढेको छ ।

तर यता हिमालयन पावर पार्टनर कम्पनीको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बलेफी हाइड्रोपावरको शेयरमूल्य ८.१५ प्रतिशत घटेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्स र गणपति लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ४ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स, नेपाल लाइफ र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर