साउन १ भित्र सबै सवारीसाधनमा इम्बोस्ड प्लेट राख्नू भनेका छैनौं : विभाग

यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको बताएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिका अनुसार सूचना प्रकाशित गरेको बताए ।

उनले २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने, फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ र २०७९ जेठ १ गतेबाट नवीकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएअनुसार जडान भए÷नभएको अनुगमन गर्ने सूचना आएको दाबी गरे । महानिर्देशक घिमिरले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गते भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न नभनेको बताए ।

उनले विभागले यसअघि २०७८ साल कात्तिक २२ गते राजपत्रमा प्रकाशित सूचनामा तत्कालिन अवस्थामा नाम तोकिएका पाँच वटा प्रदेशमा २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्रयोग गर्ने भनिएअनुसार विभाग अघि बढेको बताए ।

इम्बोस्ड नम्बर प्लेट नियमित कार्यतालिका अनुसार जसको लागि अनिवार्य गरिएको थियो उनीहरुले जडान गरेको छ वा छैन भन्ने कुरा विभागले अनुगमन गर्ने भनिएको भन्दै महानिर्देशक घिमिरेले साउन १ गते भित्रमा सबै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भन्ने सूचना गलत भएको बताए । त्यस्तै उनले इम्बोस्ड नम्बर प्लेट जडानको लागि विभागले सम्पूर्ण पूर्वाधार तयारी पारेको जिकिर गरे ।

महानिर्देशक घिमिरेले मुख्य पूर्वाधार भनेको नम्बर प्लेट उत्पादन, उत्पादनको काम र जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्ति समेत व्यवस्था गरिएको जानकारी दिए ।

महानिर्देशक घिमिरेले गण्डकी प्रदेश र बागमती प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडानको तयारी पूरा भइसकेकाले पछिल्लो सूचनामा गण्डकी र बागमती प्रदेशलाई मुख्य फोकस गरिएको बताए ।

उनले गण्डकी र बागमती प्रदेशमा चार पाङ्ग्रे वा सो भन्दा ठूला सवारी साधन र गुर्जुधारामा दुई पाङ्ग्रे सवारीसाधनको लागि जडान तयारी पूरा भएको बताए । गण्डकी प्रदेशको पोखरामा पूर्वाधार तयार भएको घिमिरेको भनाइ छ ।

उनका अनुसार अब निकट भविष्यमा लुम्बिनी प्रदेशमा बुटवलमा, बागमती प्रदेशको थप हेटौँडामा अन्य प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यकअनुसार विभागले पूर्वाधार तयार गरिरहेको बताए ।

महानिर्देशक घिमिरेले गण्डकी र वागमती प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्ने सूचना गलत रहेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *