बाहिरी चक्रपथ निर्माणको कुनै पनि काम भएको छैन : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनैपनि काम हुन नसकेको बताएकी छिन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।

उनले अहिले बनाउने भनिएको ठाँउमा बाहिरी चक्रपथ बन्ने हो की होइन भन्नेमा अन्योलता रहेको पनि बताइन् । मन्त्री झाँक्रीले चोभारदेखि सतुंगलसम्मको ६ किलोमिटरमा धेरै ठाँउमा सरकारी भवन बनेको बताइन् ।

उनले ६ किलोमिटरमा सरकारले मुआब्जा दिने हो भने साढे ३ खर्ब खर्च हुने बताइन् । बाहिरी चक्रपथ बनाउने क्षेत्रमा अत्यधिक जग्गाको कित्ताकाट भएको भन्दै मन्त्री झाँक्रीले त्यसको पुनः अध्ययन आवश्यक देखिएको बताइन् ।

मन्त्री झाँक्रीले काठमाडौं उपत्यकामा ४ वटा स्याटलाइट सिटी बन्ने भने पनि बन्न नसकेको बताइन् । उनले अघिल्लो सरकारले धेरै गफ गरे पनि काम भने धेरै नगरेको जिकिर गरिन् ।

त्यसको लागि उत्तरपूर्वी इसान शहरको भौतिक योजना तयार भएर मन्त्रिपरिषद्मा जाने प्रक्रियामा रहेको मन्त्री झाँक्रीले बताइन् । उनले बाँकी ३ वटा शहरको सम्भाव्यता अध्ययन कार्य जारी रहेको बताइन् ।

मन्त्री झाँक्रीले युटिलिटी करिडोरको कानून चालु आवमा संसदमा ल्याउने तयारी रहेको बताइन् । उनले यो कानुन बनेमा सडक बन्ने र खन्ने क्रम तत्काल रोकिने बताइन् ।

सडकदेखि बाटोका झुण्डिएको तारको व्यवस्थापन पनि यसले गर्नेकुरा अन्योल रहेको भन्दै नयाँ ऐनले सबै व्यवस्थापन गर्ने दाबी गरिन् ।

मन्त्री झाँक्रीले नगरविकास कोषलाई छुट्टै २० अर्बको पुँजी भएको वित्तीय निगम बनाएर नगर विकासको काम गर्ने ऐन ल्याउन लागेको बताइन् । उनले उक्त कानून मन्त्रीपरिषद्बाट पास गरेर कार्यान्वयनमा ल्याउने तयारीमा सरकार रहेको उल्लेख गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर