न्यायाधीश घूस प्रकरण

इच्छाराज जेल गएपछि उद्देश्य पूरा भएन, घुस लेनदेनको नियतमा लाग्ला त कानुनी लगाम ?

न्यायाधीश–अधिवक्ता अडियो सार्वजनिक

१४ पुस २०७८, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए । न्यायाधीश कोइरालाको इजलासले ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भए । सहकारी ठगी प्रकरणमा तामाङ, श्रेष्ठसहित केन्द्रीय अनुसन्धान ब्युरोले १२ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो ।

७ असार २०७९, न्युज २४ टेलिभिजनको चर्चित तथा लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग‘मा उनै व्यवसायी तथा पूर्वसांसद तामाङलाई छुटाउन वकिल र न्यायाधीशबीच मोल–मोलाइ भएको अडियो प्रशारण भयो । तामाङलाई छुटाउनका लागि २०७८ पुसमा वकिल र न्यायाधीशबीच भएको संवादमा एकातर्फ न्यायाधीश कोइराला र अर्कोतर्फ कानुन व्यवसायी रुद्रप्रसाद पोखरेल रहेको दाबी न्युज २४ को छ । यद्यपि अडियोको फरेन्सिक जाँच भएको छैन ।

८ असार २०७९, घुस लेनदेनका लागि अधिवक्तासँग संवाद गरेको आरोप लागेका न्यायाधीश कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा ‘म बारे आज आएको समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ । म बाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु । ममाथि न्याय परिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।’

बुधबार नै नेपाल बार एशोसिएसनले आफ्ना पूर्व कोषाध्यक्ष रहेका अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालामाथि अनुसन्धानको माग गरेको छ । यस्तै यो समाचार तयार गर्दासम्म न्याय परिषद् बैठक बसिरहेको छ । उसले तत्काललाई गर्न सक्ने न्यायाधीशलाई निलम्बन गरेर अनुसन्धान समिति बनाउन सक्छ । जसको अनुसन्धान र प्रतिवेदनपछि यो प्रकरणले एउटा गम्भीर प्रश्न जन्माउनेछ ।

त्यो हो– घुस लेनदेनका लागि संवाद भएको हो, तर भने अनुसार काम भएको छैन् । अब यो अवस्थामा कानुनको रक्षक मानिएका व्यवसायी र न्यायाधीशको नियत माथिको कारबाही के हुने ?

सार्वजनिक भएको १० मिनेट लामो अडियोमा कानुन व्यवसायी पोखरेल र न्यायाधीश कोइरालाबीच मोलमोलाइ भएको सुन्न सकिन्छ । यो संवादको मिति दाबी गरिए अनुसार न्यायाधीश कोइरालाले नै आरोपी तामाङको थुनछेक इजलास हेर्ने पक्का भएको छ ।

अडियोमा १० करोड रुपैयाँ धरौटी माग गरेर तामाङलाई थुनामुक्त गराउने र यस वापत दुई करोड रुपैयाँ लेनदेन आपसमा हुने जनाइएको छ । अडियोमा कानून व्यवसायी पोखरेलले न्यायाधीश कोइरालामाथि अघोषित दवाब सिर्जना गरेको अनुमान गर्न सकिन्छ ।

तर, अन्तमा न्यायाधीश कोइराला सहमत भएको अडियोमा सुन्न सकिन्छ । यसका लागि तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणालाई भेटाएर काम गराउने आश्वासन कानून व्यवसायी पोखरेलले दिएका छन् ।

यो प्रकरण नेपालको न्यायीक, प्रशासनिक, राजनीतिक, संवैधानिक र सुरक्षा इतिहासमा पहिलो होइन । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको अडियो सार्वजनिक भएको थियो । आयोगले उनी बिरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । जसमा विशेषले उनीसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको थियो । पाठक धरौटी बुझाएर रिहा भएपछि यतिबेला गुमनाम छन् ।

अहिले पोखरेल–कोइराला अडियो संवाद जस्तै २०७५ मा पाठक अडियो ‘सुपर हिट’ थियो ।

लामो समय यसको चर्चा चल्यो । कानुन अनुसार मुद्दा अघि बढेपछि अहिले त्यसको अवस्था अज्ञात जस्तै छ ।

यो प्रकरणमा उद्देश्य पुरा भएको छैन् । तर नियत स्पष्ट गलत छ । यस्तै नेपालको कानुनी व्यवस्थामा समेत यसले गंभिर प्रश्न उठाएको छ ।

अब यो प्रकरणमा नियतमाथि पनि लाग्ला त लगाम ? सबैको चासो र प्रतीक्षाको विषय यही हो ।

होइत त? कि कसो त?

#ठोकोताली

(ठोकोताली समाचार, विचार, विश्लेषण र व्यंग्यको रोचक तथा घोचक प्रस्तुति हो । यसमा प्रस्तुत विषय कुनै व्यक्ति विशेष नभई समग्र प्रवृत्तिप्रति लक्षित हो ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर